महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाइदै

कात्तिक ६ । काठमाडौं, नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०६ औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

विसं १९९६ कात्तिक कृष्ण औंसीका दिन अर्थात् लक्ष्मीपूजाका दिन देवकोटा जन्मनु भएको कारण विदेशमा समेत आजकै दिन विभिन्नि साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

काठमाडौँको डिल्लीबजारमा देवकोटाको जन्म भएको थियो ।

दश वर्षको उमेरबाट साहित्य रचना सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित भएका छन् ।

नेपाली साहित्यमा स्वच्छन्तावादी, प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र समाजसुधारका भाव पाइन्छन् ।
देवकोटाका साहित्यक रचनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन भएको पाइन्छ ।

भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटाको प्रतिभाको उच्च मूल्याङ्कन गर्दै भारतका महाकवि सुमित्रानन्द पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको समष्टिरुपसँग तुलना गरेका थिए । नेपाली नाट्य जगत्का सम्राट बालकृष्ण समले देवकोटाको मुनामदन, शाकुन्तल महाकाव्य र पागल कवितासँगै तीनपटक जन्म भएको जनाउनु भएको थियो ।

नेपाली भाषाका कृतिको अन्य भाषामा अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनको महत्वपूर्ण योगदान छ ।

विसं २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपाली भाषालाई नेपाल राज्यभर अनिवार्य विषयका रुपमा लागू गराउनु, त्रिभुवन विश्वविद्यालयलाई कीर्तिपुरमा जग्गाको व्यवस्थापन गर्नु र २०१४ साल असार ९ गते हालको नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाका अविस्मरणीय योगदान मानिन्छ ।

तीन महिनामा शाकुन्तल महाकाव्य, दश दिनमै सुलोचना महाकाव्य र एकै दिनमा कुञ्जिनी खण्डकाव्य रचना गर्नसक्ने देवकोटामा तुरुन्त कविता रचना गर्नसक्ने अद्भुत क्षमता भएको उहाका स्वकीय सचिवसमेत भई कार्य गरिसकेका साहित्यकार कञ्चन पुडासैनीले बताउनु भयो ।

देवकोटाको खण्डकाव्य मुनामदनले नेपालमा धेरै बिक्री भएका साहित्यिक कृतिहरूको सूचीमा अग्र स्थानमा बनाएको कीर्तिमान अहिले पनि कायमै छ ।
यस खण्डकाव्यलाई पाठकले विशेष मन पराएका छन् ।

देवकोटाले पनि कुनै प्रसङ्गमा मेरो मुनामदनबाहेक सबै कृति नष्ट गरेपनि हुन्छ भन्ने किसिमको अभिव्यक्ति दिनुभएको चर्चा पनि नेपाली साहित्य जगत्मा हुने गरेको छ ।

सम्बन्धित शिर्षकहरु