एजेन्सी । फ्रेन्च लिग वान फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा लिग लिडर पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शानदार जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले डिजोनलाई ८–० ले हराएको छ । पिएसजीका लागि एन्जल नेइमारले चार, डी मारियाले दुई तथा एडिसन काभानी र केलियन एमबाप्पेले एक एक गोल गरे ।खेलको चाथौं मिनेटमा डी मारियाले गोल गर्दै पिएसजीका लागि सुरुवाती अग्रता दिलाए । उनले खेलको १५ औंं मिनेटमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर बनाए ।
यस्तै खेलको २१ औं मिनेटमा काभनीले गोल गरेपछि पिएसजीको अग्रता ३–० मा पुग्यो ।यो सँगै काभानीले पिएसजीको सर्वकालीन सर्वाधिक गोलकर्ताको कीर्तिमानमा बराबरी गरेका छन् । उनले पिएसजीका लागि सबै प्रतियोगितामा गरेर अहिलेसम्म एक सय ५६ गोल गरेका छन् । यो सन् २०१२ देखि २०१६ सम्म पिएसजीमा रहेर जाल्टन इब्राहिमोविचले बनाएको कीर्तिमानसँगको बराबरी हो ।
खेलको ४२ औं मिनेटमा नेइमारले व्यक्तिगत पहिलो गोल गरेपछि पिएसजीले पहिलो हाफमा ४–० को अग्रता लियो । नेइमारले दोस्रो हाफमा ह्याट्रीक गरे । उनले ५७ र ७३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।
७७ औं मिनेटमा एमबाप्पेले गोल गरेपछि पिएसजीको अग्रता ७–० मा पुग्यो । ह्याट्रिक गरिसकेका नेइमारले ८३ औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा पनि गोल गर्दै पिएसजीलाई ८–० को जित दिलाए ।पेनाल्टी हान्नबाट चुकेका काभानीले यो खेलमा थप एक गोल गरेर क्लबको सर्वकालीन गोलकर्ता बन्न अवसरबाट वञ्चित हुन पुगे ।
विजयी भएको पिएसजीको २१ खेलबाट ५६ अंक भएको छ । राति नै भएको अर्को खेलमा लियोनले गुइन्गाम्पलाई २–० ले हराएको छ । जितसँगै ललियोन दोस्रो स्थानमा उक्लिएको छ र पिएसजी लियोन भन्दा ११ अंकले अघि रहेको छ ।








