नवमीको दुर्गा पूजा र टीका एकै दिन

असोज १७ । काठमाडौँ,यस बर्षको बढादशै अन्तर्गत महानवमी र दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट टीका थापी मनाइँदैछ ।

यस वर्ष आज सूर्योदयकालमा महानवमी र त्यसपछिको समयमा विजयादशमी भएकाले महानवमी र विजयादशमी पर्व एकैदिन परेको हो ।

असोज १८ गते शनिबार सूर्योदयकालमा एकादशी तिथि लागिसक्ने भएकाले यस वर्ष महानवमी र विजयादशमी पर्व एकै दिन परेको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

आज एक घडी आठ पला अर्थात् बिहान ६:२५ मिनेटसम्म महानवमी र त्यसपछि विजयादशमी तिथि लाग्ने भएकाले महानवमी र विजयादशमी पर्व एकैदिन मनाउनुपर्ने पनि नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आज पहिले महानवमीको दिन गर्नुपर्ने दुर्गा पूजालगायतका कार्य सकी विजयादशमीको दिन गर्नुपर्ने दुर्गा पूजा आदि कार्य सकेपछिमात्र देवी विसर्जन गर्नुपर्ने पनि अध्यक्ष गौतमले बताउनुभयो ।

यस वर्ष असोज शुक्ल दशमी तिथि क्षय भई सूर्योदयकाल दशमी तिथिले नभटेकाले यस्तो योग परेको हो । यस्तो योग बेलाबेलामा पर्ने भएकाले यो योगबाट कुनै फरक नपर्ने पनि समितिले जनाएको छ ।

केही व्यक्ति र सञ्चारमाध्यमले समेत यस किसिमको योगलाई अनिष्टका रुपमा प्रचार गरेकाले यस्तो हल्लाका पछाडि नलाग्न पनि समितिले सबैसँग आग्रह गरेको छ । यस किसिमको योग बेलाबेलामा पर्ने भएकाले यो ज्योतिषशास्त्रअनुसार सामान्य योग भएको पनि समितिले स्पष्ट पारेको छ ।
आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवी स्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिनेले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ ।

सम्बन्धित शिर्षकहरु