फागुन १९ ।काठमाडौँ, हिमपातका कारण थुनिएको कर्णाली नदीमा पानीको बहाव आज दिउँसोदेखि बढ्न थालेको छ । हिजो राती बाक्लो हिमपातका कारण नदी थुनिएको र अहिले पानीको बहाव बढेको खबर आएको जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर कुँवरले जानकारी दिनु भयो । हुम्ला सदरमुकाम सिमीकोटदेखि एक दिन टाढाको दुरीमा रहेको धारापरी प्रहरी चौकीका सुरक्षाकर्मीले कर्णालीमा पानीको बहाव बढिरहेको खबर दिएको हो ।
पानी थुनिएको ठाउँ धारापरी चौकीदेखि डेढ दिनको पैदल दुरीमा पर्दछ ।
लगातारको वर्षा र बाक्लो हिमपातका कारण गएरातिदेखि कर्णाली नदी थुनिएको थियो । नदी थुनिएपछि कर्णालीमा पानीको बहाव घटेको थियो । नदीमा पानीको बहाव घटेका कारण नदी किनारामा बसोबास गर्ने जनता त्रसित बनेका छन् । सदरमुकाममा विद्युत् आपूर्ति समेत अबरुद्ध बनेको छ ।








