भदौ २७, काठमाडौं । एथलेटिक्स खेलाडी कान्छीमाया कोजु ‘पल्सर स्पोटर्स अवार्ड’को १४ औं संस्करणको ‘पब्लिक च्वाइस अवार्ड’ जित्न सफल भएकी छन् । एसएमएस भोटिंगमार्फत पाँच जना खेलाडीबीच भएको प्रतिस्पर्धामा कान्छीमायाले ‘पब्लिक च्वाइस अवार्ड’ जित्न सफल भएकी हुन् ।
वि.सं.२०६० सालदेखि नेपाल खेलकुद पत्रकार मन्चले प्रदान गर्दै आएको स्पोटर्स अवार्डको यो संस्करणमा पनि विभिन्न ९ विधामा उत्कृष्ट खेलकर्मीलाई पुरस्कृत गरीएको छ ।
पुरस्कृत हुनेहरुमा वर्षका उत्कृष्ट प्रशिक्षक एथलेटिक्सकै प्रशिक्षक पुष्पराज ओझा ,पुरुष वर्ष खेलाडीमा फुटबल खेलाडी किरण चेम्जोंग, महिला खेलाडी ब्याडमिन्टनकी नङसलदेवी तामाङ, युवा खेलाडीमा जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान विजयी भएका छन् ।
नेत्रहीन विश्वकप क्रिकेटमा दोहोरो सतक बनाएका पदम बडेला ‘पारा एथलिट अवार्ड’बाट सम्मानित भएका छन् । त्यस्तै, खेलकुदमा विशेष योगदान दिने बन्दी सहायता नियोग पामलाई ‘स्पेशल अवार्ड’ प्रदान गरिएको छ ।
त्यसैगरी, ६ दशकदेखि नेपाली गल्फ खेलकुदमा योगदान पुर्याउन सफल घनश्याम थापा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन् । राष्ट्रिय भलिबल टोलीलाई भने वर्ष टिमको उपाधि दिइएको छ ।








