भैरहवामा एमालेको शक्ति प्रदर्शन

भैरहवा । नेकपा एमालेले पाँच नम्बर प्रदेशको भैरहवामा शक्ति प्रदर्शन गरेको छ । पहाडी जिल्लाबाट पनि बन्दको अवज्ञा गर्दै कार्यकर्ता उतारेर एमालेले भैरहवामा शक्ति प्रदर्शन गरेको हो ।

भैरहवामा भएको सभालाई एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतमले मात्रै सम्बोधन गरेका थिए । एमालेले भैरहवाको सभालाई शक्ति प्रदर्शन भनेको छ ।

सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच नम्बर प्रदेश कुनै पनि हालतमा टुक्र्याउन नदिने प्रतिवद्धता व्यक्त गरे ।

उनले देशलाई विगार्न पाँच नम्बर प्रदेश टुक्र्याउने योजना बनाइएको बताउँदै भने,“यो सरकारले अदालत र पाँच नम्बर प्रदेशका जनताको कुरा सुन्न तयार छैन । सरकार अर्कैले खडा गरेको हो र अर्कैले मीत लगाएको हो ।”

ओलीले नागरिकता पनि चकलेट बाँडेजस्ता बाँड्न नसकिने धारणा राखे ।

“नागरिकता चकलेट होइन, राजारानीको जन्मोत्सवमा बाँडेजस्तो बाँड्ने,” उनले भने, “अंगीकृतलाई प्रमुख पद दिन सकिँदैन । विहे गरेर ल्याएको भोलिपल्ट बुहारीलाई मन्त्री बनाउन पनि सकिन्नँ ।”

उनले नेपालको झण्डा फेर्नुपर्छ भन्नेहरुलाई एमालेले झण्डा बोकेर हिँडेको देख्दा टाउको दुखेको बताउँदै भने, “तिमीहरु पनि बोक, सबैले घरघरमा नेपालको झण्डा फहराउँ ।”

सम्बन्धित शिर्षकहरु