पाईप चोरी भएपछि ३६ लाखको सिँचाइ अवरुद्ध

जाजरकोट, १० माघ । सिँचाइ योजनाको पाइप चोरी हुँदा मजकोट–६ का स्थानीय सिँचाइ सुविधाबाट वञ्चित भएका छन् ।

पिप्से वडारदेखि पल्लाचौर सिँचाइ योजना निर्माण भएको दुई वर्ष नबित्दै पाइप चोरी भएको हो । दुई महिनाअघि मुहानबाट करिब ४०० मिटर लम्बाइ रहेको पाईप चोरी भएको सिँचाइ योजनाका अध्यक्ष मरिमल तिरुवाले बताए ।

पाइप चोरी भएसँगै यहाँका २०० भन्दा बढी घरधुरी सिँचाइ सुविधाबाट वञ्चित भएकोे बेलपत्री प्रावि मजकोट–६ का प्रधानाध्यापक रामबहादुर नेपालीले जानकारी दिनुभयो । गरिबी निवारण कोषको रु ३६ लाखमा निर्माण गरिएको यो सिँचाइ योजना २०७० सालमा निर्माण गरिएको थियो ।

पाइपमा पानी आएको बेला मजकोट–६ का सबै गाउँलेले जमिनमा सिँचाइ गरी गहुँबालीलगायत बेमौसमी तरकारी बाली लगाएका थिए । पाइप चोरी भएसँगै अहिले लगाएको अन्नबाली सिँचाइको अभावमा सुक्न थालेको प्रअ नेपालीले बताए

पाइप चोरी गर्ने मानिसको खोजीका लागी यहाँका स्थानीयले प्रहरीमा उजुरी गरे पनि प्रहरीले सुनुवाइ नगरेको उहाँको भनाइ छ ।

अहिले सिँचाइको सबै पानीबीच जङ्गलमा खेर गएको छ यता हाम्रा जग्गा बाँझै छन्, प्रहरीले साथ देला भनेको तर केही भएन नेपालीले दुखेसो पोखे । रासस

सम्बन्धित शिर्षकहरु