अस्ट्रेलियाको संसदमा नेपालको नाकावन्दीले ठाउँ पायो

अस्ट्रेलिया, भारतले नेपाल लगाएको नाकाबन्दीको विषय अन्तर्राष्ट्रियकरण हुने क्रम बढेको छ  । यसैक्रममा नेपालको नाकाबन्दीबारे अस्ट्रेलियाको संसदमा छलफल भएको छ। अस्ट्रेलियाको प्रमुख प्रतिपक्षी दल लेबोरमा आवद्ध नेपाली समुदायका अगुवाले मंगलबार दलका केन्द्रीय नेतालाई भेटेर नेपालको राजनीतिक, समाजिक, कुटनीतिक समस्या र सहयोगका सन्दर्भमा छलफल अगाडि बढाएका हुन् । राजधानी क्यानबेरास्थीत संसद भवनमा भएको भेटवार्तामा लेबर पार्टीमा आवद्ध नेपाली अगुवाले मुलुकको पुननिमार्ण, वर्तमान परिस्थिति र प्रवेशाज्ञाको सहजता सम्वन्धमा आवाज उठाएको प्रतिनिधिहरूले असनेपालन्यूजलाई जानकारी दिए ।

नेपालमा गत वैशाखमा आएको भूकम्पमा अस्ट्रेलियन सरकारको तर्फबाट भएको सहयोग र सद्भावका लागि टोलीले धन्यबाद दिएको थियो साथै टोलीले आगामी दिनमा पनि पुनःनिमार्णमा यस्तै सहयोग हुने अपेक्षा गरेको लेबर पार्टीका नेपाली अगुवा गोवा कटुवालले जानकारी दिए ।नेपाली टोलीले प्रतिपक्ष दल लेबरको स्याडो विदेश मन्त्री तथा बिपक्षी दलकी उपनेता तान्या पील्भेसेक र पूर्व अर्थमन्त्री क्रीस बोबेन, पूर्वअध्यागमन मन्त्री रीचार्ड माल्र्स र फेडरल एमपी मिचेल रोल्यान्ड र सिनेटर श्याम दस्तीयारीसँग भेटवार्ता गरेर नेपालको समस्या दर्शाएको हो ।

कुराकानीमा नेपालमा भारतले लगाएको नाकाबन्दीका कारण जनताले पाएको सास्तीका बारेमा अवगत गराइएको लेबर पार्टीका ग्रानभिल ब्रान्चका पूर्वसचिव भरत पन्तले बताए। लेबरका नेताले नेपालमा भइरहेको पछिल्लो समस्याको बारेमासमेत जानकारी नभएको बताएपछि आफूहरु उनीहरुलाई भेट्न क्यानबेरास्थित संसद भवन पुगेको पन्तले बताए। सिड्नीबाट गएका दर्जन नेपाली मुलका लेबर समर्थकले संसद भवनमै सबै प्रतिपक्ष नेतासँग भेट गरेका थिए।

‘हामीले मुलुकको बर्तमान समस्या मात्र होइन, नेपाली विद्यार्थी तथा अभिभावक र सर्वसाधारणले भिसाका लागि झन्झटिलो ब्यवस्था पार गर्नुपर्नेमा त्यसलाई सहज बनाउन नेपालबाटै भिसा उपलब्ध गराउन आग्रह गरेका छाँै,’ सहभागी एनआरएनका पूर्वअध्यक्ष गणेश केसीले भने, ‘भिसाका बारेमा नेपालीहरूले निकै दुःख पाएका छन, यो समस्याका बारेमा लेबर पार्टीको ध्यानाकर्षण जरूरी थियो र उनीहरू सकारात्मक देखिए,’ केसीले भने।

सो टोलीले लेबरका नेताहरूलाई नेपाल भ्रमणका लागि निमन्त्रण समेत दिएका थिए। अस्ट्रेलियाबाट नेपाल जाने माथिल्लो तहको सरकारी पदाधिकारीका रूपमा पूर्वअध्यागमन मन्त्री रिचार्ड माल्र्स सन २०१२ मा गएका थिए।

सम्बन्धित शिर्षकहरु