विराटनगर। सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राजनैतिक समस्या समाधानका लागि संविधान संसोधन विधेयक परिमार्जनसहित पारित हुनुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले दीर्घकालीनरुपमा द्वन्द्व समाधान हुने गरी संविधान संशोधन हुनुपर्ने स्पष्ट पारे।
यथास्थितिमा संविधान संशोधन विधेयक पारित भएपनि आपूmहरूलाई मान्य नहुने उल्लेख गर्दै उनले परिमार्जनसहितको विधेयक पारित हुनुपर्ने आवश्यकता औँल्याए ।
उनले संविधान संशोधन विधेयकमा सीमाङ्कनको विषयमा निर्णय गर्नुपर्ने र यसका लागि संसदले बाटो खोल्नसक्ने जिकिर गरे ।
उनले संविधान संशोधन राजनीतिक समस्या समाधानको उत्तम उपाय भएकाले संविधानलाई सर्वमान्य बनाउन सबै दलले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे।
अध्यक्ष यादवले संविधान संशोधन विधेयक पारित नभए कुनैपनि निर्वाचन हुन नसक्ने पनि स्पष्ट पारे । उनले संवैधानिक विवाद देखाएर सीमाङ्कनको समस्या समाधान नगर्ने खेल भईरहेको आरोपसमेत लगाए ।








