काठमाडौं । मलेसियामाथि एक विकेटको जित हात पार्दै नेपालले यू–१९ एसिया कपको यात्रा अन्त्य गरेको छ ।
लगातार दुई हारपछि समूह चरणबाटै बाहिरिएको नेपालले अन्तिम खेलमा मलेसियाबाट १५४ रनको लक्ष्य पाएको थियो । जसलाई नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाएर भेट्टायो ।
नेपालको कठिन जितमा अनिल साहले ३२ रन जोडे भने अभिनाष कर्णले २९ र दिपेन्द्र सिंह ऐरीले २२ रनको योगदान गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४४।४ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको थियो ।
मलेसियाका लागि बिरनदीप सिंहले सर्बाधिक ७५ रनको अर्धशतकीय पारी खेले । उनले १२० बलको सामना गरी ७ चौका प्रहार गरेका थिए ।
उनका अलावा मलेसियाका मोहम्मद हसिफ २१ र सेफ उल्लाह मलिकले ११ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् ।
बलिङतर्फ नेपालका अदिल खानले ३ तथा कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले २÷२ विकेट लिए ।
यसअघिका दुई खेलमा श्रीलंका र भारतसँग पराजित भइसकेको नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ ।








