डा. केसीले दिए सरकारलाई चेतावनी

काठमाडौं । चिकित्सा शिक्षाको सुधारको माग राख्दै आन्दोलनरत डा. गोविन्द केसीले सरकारको ध्यानाकर्षण गराएका छन् । अनसन टुंग्याउँदा गरेको सम्झौताविपरित सरकाले मेडिकल कलेजलाई सम्बन्धन दिन लागी परेको भन्दै सरकारकालाई ‘सहमति उलङ्घन नगर्न’ चेतावनी दिएका हुन् ।केसीले चारदिन अघि मात्रै अनशन टुंग्याएका थिए ।

बुधबार विज्ञप्ति प्रकाशित गरि चिकित्सा शिक्षा ऐन नआउन्जेल कुनै पनि वहानामा नयाँ मेडिकल कलेज नखोल्ने सम्झैता भएकोमा अहिले रातारात विस्तारित कार्यक्रमका नाममा एउटा मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालय (केयु) ले सम्बन्धन दिने तयारी गरेको आशंका डा. केसीको छ । त्यस्तै केसीले गम्भीर अनियमिततामा मुछिएका केयुका अहिलेका पदाधिकारीलाई फेरि अर्को कार्यकालका लागि नियुक्ति दिने प्रपञ्च छर्लंग भएको बताएका छन् ।

“आफैंले गरेको सम्झौता चार दिन नबित्दै आफैं उल्लंघन गर्ने मानिसहरुले योे देशकै नेतृत्व गर्ने दुर्भाग्यपूर्ण अवस्थामा हामी छौं,” उनले विज्ञप्तिमा भनेका छन् ।

उनले विज्ञप्तिमा अगाडि भनेका छन्, “देशको प्रधानमन्त्री र शिक्षामन्त्रीले नागरिकहरुलाई दिने धोका र नागरिकहरुप्रति गर्ने गद्दारी कुनै पनि हालतमा सह्य हुनु हुँदैन । केयूका उपकुलपति छान्ने सर्च कमिटिमा रहेका व्यक्तिहरु दमननाथ ढुंगाना र सुरेशराज शर्मालाई पनि या त स्वविवेकले योग्य र स्वच्छ व्यक्तिको छनोट गर्न वा तत्काल कमिटिबाट राजीनामा गर्न म विशेष अनुरोध गर्दछु ।”

विज्ञप्तिको पूर्णपाठ
लामो समयको संघर्षपछि स्वास्थ्य र मेडिकल शिक्षाको क्षेत्रमा हँदै गरेका सुधारहरुको मर्मविपरित तथा पछिल्लो सम्झौता भएको एक साता पनि नबित्दै सरकारले त्यसविपरित एक मेडिकल कलेजलाई सम्बन्धन दिन लागी परेको भन्ने समाचारहरु आइरहेका छन् । चिकित्सा शिक्षा ऐन नआउन्जेल कुनै पनि वहानामा नयाँ मेडिकल कलेज नखोल्ने सम्झौता भएकोमा अहिले रातारात विस्तारित कार्यक्रमका नाममा एउटा मेडिकल कलेजलाई केयुले सम्बन्धन दिने र त्यसबापत गम्भीर अनियमिततामा मुछिएका केयुका अहिलेका पदाधिकारीलाई फेरि अर्को कार्यकालका लागि नियुक्ति दिने प्रपञ्च अब छर्लंग भएको छ ।

यस्तो जालझेलमा प्रधानमन्त्री पुष्प कमल दाहाल र शिक्षामन्त्री धनिराम पौडेल खूलेर लाग्नु आपत्तिजनक कुरा हो । आफैंले गरेको सम्झौता चार दिन नबित्दै आफैं उल्लंघन गर्ने मानिसहरुले योे देशकै नेतृत्व गर्ने दुर्भाग्यपूर्ण अवस्थामा हामी छौं ।

यो अवस्थामा हाम्रो अभियानमा निरन्तर जुटिरहने मिडिया र नागरिक समाजलाई राज्यको यस्तो छलकपट रोक्न तत्काल आआफ्नो ठाउँबाट जुट्न म आह्वान गर्दछु । देशको प्रधानमन्त्री र शिक्षामन्त्रीले नागरिकहरुलाई दिने धोका र नागरिकहरुप्रति गर्ने गद्दारी कुनै पनि हालतमा सह्य हुनु हुँदैन । केयूका उपकुलपति छान्ने सर्च कमिटिमा रहेका व्यक्तिहरु दमननाथ ढुंगाना र सुरेशराज शर्मालाई पनि या त स्वविवेकले योग्य र स्वच्छ व्यक्तिको छनोट गर्न वा तत्काल कमिटिबाट राजीनामा गर्न म विशेष अनुरोध गर्दछु । उहाँहरुको उचाइको व्यक्तिले एउटा मेडिकल कलेजको सम्बन्धनसित सौदावाजी गरेर प्रधानमन्त्री र शिक्षामन्त्रीले जबर्जस्ती बनाउन खोजेको व्यक्तिको नाम सदर गर्नुहुनेछैन भन्ने मलाई विश्वास भएका कारण मैले यस्तो अनुरोध गर्नुपरेको हो ।
धुलिखेल अस्पताललाई स्थापित र विकास गर्न अहम् भूमिका खेलेका व्यक्तित्व रामकण्ठ मकाजूको त्यस खालको भुमिकाको सराहना गर्दै हामी के भन्न बाध्य छौं भने नेपालमा आधा जति डाक्टर उत्पादन गर्ने काठमाडौं विश्वविद्यालय अन्तर्गत मेडिकल शिक्षाको गुणस्तरमा उहाँको नेतृत्वमा आइरहेको ह्रास र त्यसले लाखौं नेपालीहरुको स्वास्थ्यमा निम्त्याएको जोखिम अक्षम्य छ । विश्वविद्यालयले निजी मेडिकल कलेजहरूलाई नियमन गर्नुको सट्टा निजी मेडिकल कलेजको इशारामा विश्वविद्यालय चल्ने अहिलेको अवस्था तत्काल बन्द हुनुपर्छ ।
अन्तमा राज्यले लामो समयदेखि लिएको नीति र केही दिन अगाडि मात्र गरेको सम्झौताको प्रतिकूल हुने गरी नेपाल मेडिकल काउन्सिलले कुनै निर्णय गर्ने छैन र गरिसकेको भए त्यसलाई तत्काल रद्द गर्नेछ भन्ने मेरो विश्वास छ ।

यदि यत्रो चेतावनी दिंदादिंदै पनि सम्झौताको प्रतिकुल हुने गरी कुनै पनि काम अघि बढेको खण्डमा त्यसको कडाभन्दा कडा प्रतिकार गर्न तयार रहेको पनि सबै पक्षलाई जानकारी गराउँछु । त्यो अवस्थामा उत्पन्न हुन जाने असहज परिस्थितिका लागि मूलतः सम्झौताप्रति गद्दारी गर्ने प्रधानमन्त्री र शिक्षामन्त्री हुनेछन् ।
डा. गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं

सम्बन्धित शिर्षकहरु