चितवन, ९ असोज । नेपालको सडकपेटीमा कष्टकर जीवनयापन गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने अभियानमा लागेको मानवसेवा आश्रम चितवनको सेवा विस्तारका लागि अस्ट्रेलियामा बस्ने नेपालीले धान्याचल लगाएर रकम सङ्कलन गरेका छन् ।
चितवनबाट गोरखा जिल्लामा मानव सेवा आश्रमको शाखा विस्तार गरी असहायको उद्धार गर्र्न सहयोग गर्ने उद्देश्यले गोरखा समाज अस्ट्रेलिया परिवारले धान्याचल लगाई रु १० लाख रकम सङ्कलन गरेको हो ।
सो रकम मानव सेवा आश्रमलाई प्रदान गर्ने निर्णय भएको गोरखा समाज अस्ट्रेलियाका अध्यक्ष ध्रुव पोखरेलले बताए ।
सो श्रीमद् भागवत ज्ञान महायज्ञमा कथा वाचन युवावाचक दीनबन्धु पोखरेलले गरेका थिए। गोरखा जिल्लामा ३० जना असहाय राख्न सकिने क्षमताको आश्रमका लागि अनुमानित लागत रु २४ लाख रहेको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।
रु २४ लाखमध्ये १० लाख गोरखा समाज अस्ट्रेलिया परिवारबाट जुटिसकेको सन्दर्भमा बाँकी थप रकम जुटाउने क्रम चलिरहेको अधिकारीको भनाइ छ ।
गोरखा सँगसँगै लमजुङ, वीरगन्ज र ललितपुर जिल्लामा दसैँ तिहारलगत्तै आश्रमको सेवा विस्तार गर्ने तयारी छ । हाल मकवानपुर, चितवन र काठमाडौँमा कार्यालय स्थापना गरी आश्रमले सडकपेटीबाट ४०० जनाको उद्धार गरेको छ भने १०० जनालाई परिवारमा मिलन गराइसकेको छ ।
समाजमा विभिन्न परिस्थितिले लाचार र विवश भई मागेरसमेत खान नसक्ने अशक्त, अनाथ, अपाङ्ग, असहाय एवम् मानसिक सन्तुलन गुमाएर बेवारिसे बनेकाहरुको उद्धारपछि आश्रमले पालन पोषण तथा उपचार गरी परिवारमा पुनर्मिलन गराउँदै आएको छ ।








