ताप्लेजुङ १८ भदौ। गए रातिदेखि परेको अविरल वर्षाका कारण ताप्लेजुङ नगरपालिकाको दुई र आठमा गएको पहिरोमा एक जनाको मृत्यु भएको छ भने तीन जना पुरिएका छन् ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले दिएको जानकारी अनुसार पहिरोमा पुरिएर ठूली कान्छी भनिने एक महिलाको भृत्यु भएको छ । पहिरोमा पुरिएको अवस्थामा एकको घाइते अवस्थामा उद्धार गरिएको छ ।
पहिरोका कारण दर्जनौ घरमा क्षति पुगेको छ भने ठाँउठाँउमा पहिरो झरेपछि मेचीराजमार्ग समेत अवरुद्ध बनेको छ ।
पहिरोका कारण ताप्लेजुङ नगरपालिका आठका भुवानी शंकर नेपाल, अग्निप्रसाद भण्डारी, टेकनाथ दाहाल, डिल्लीराम अधिकारी, राजकुमार मगर, जगत बहादुर मगर, गुरुप्रसाद विक, सोमबहादुर विक, गंगामाया भट्टराई लगायतको घरहरुमा क्षति पुगेको छ ।
यस्तै ताप्लेजुङ नगरपालीका २ केनिममा नेत्रप्रसाद भट्टराई सहित अन्य छ जनाको घरमा पहिरोले क्षति पुर्याएको स्थानीयले बताएका छन् ।
गएराति करीव एक बजेबाट झरेको पहिरोले ताप्लेजुङ नगरपालिका ९ सदरमुकाम नजिकैको कफिहाउस क्षेत्रका १० घरमासमेत क्षति पुर्याएको स्थानीय गणेश नेपालले बताए । सो स्थानका स्थानीय अहिले सुरक्षित स्थानमा रहेका छन् ।
पहिरोग्रस्त क्षेत्रमा पुग्ने सडक अबरुद्ध रहेको छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलि अहिले परिचालन गरिएको छ ।








