काठमाडौं । नेपाली कांग्रेसका नेताले मुलुकलाई अस्थिरताबाट निकाश दिन कांग्रेस सक्षम भएको बताएका छन् ।
प्रजातन्त्र सम्वर्द्धन केन्द्रले बुधबार अनुपम फुडल्याण्डमा गरेको नेपालको वर्तमान राजनीतिक अवस्था र नेपाली कांग्रेसको भावी कार्यदिशा विषयक विचार गोष्ठीमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले लोकतन्त्रवादीहरु समाज र राष्ट्रप्रति उत्तरदायी हुनपर्ने बताए। उनले भने, “ लोकतन्त्रको रक्षा गर्ने प्रमुख दायित्व जनताको हो ।”
उनले बामपन्थीहरु धुब्रिकरण हुँदै गएको बेलामा बामपन्थीप्रति विश्वास गर्नु घातक भएको बताए । उनले दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेस एक भएर गएको भए ६० प्रतिशत सिट ल्याउने उल्लेख गर्दे उनले भने, “भविश्यमा कांग्रेस एक भएर जानुपर्छ ।”
नेता कोइरालाले नेपाली कांग्रेसको इतिहास, विचार र कार्यकर्तासँग भएकाले सुन्दर पार्टी भएको भन्दै कार्याकर्ताहरु कमजोर भएको कारण पार्टी कमजोर भएको बताए। महामन्त्री कोइरालाले बौद्धिक व्याक्तित्वले कार्यकर्तालाई नेपाली कांग्रेसको इतिहास र विचार सिकाउनु आवश्यक रहेको स्पष्ट पारे ।
उनले स्थानीय तहका महिला, दलित, जनजाति, मुस्लिम, आदिवासीलाई नेतृत्वमा पुर्याएमात्र पार्टी बलियो हुने बताउँदै नेपाली कांग्रेस समाजवादमा विश्वास गर्ने पार्टी भएकाले समाजप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए।
नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले एउटा आन्दोलनले ल्याएको उपलब्धी हाँसिल गर्न नपाउँदै अर्को आन्दोलनमा लाग्दा देश पछाडि परेको बताए ।
उनले पहिलो संविधानसभामा कम्युनिष्टहरुको चारपटक सरकार बन्दापनि संविधान निर्माण हुन नसक्नु दुखद कुरा भएको बताँउदै कांग्रेस नेतृत्वमा बनेको संविधान कार्यान्वयनमा पनि कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले भने, “ विभिन्न समयमा भएका परिवर्तनबाट आएका उपलब्धीलाई संस्थागत गर्न कांग्रेसले नेतृत्व लिनुपर्छ ।”
नेता सिंहले नेपाली काँग्रेसले आफ्नो आदर्श र सिदान्तअनुसार काम गरेर संविधान निर्माण भएको बताउँदै २०७४ माघ ७ लाई ध्यानमा राखेर स्थानीय, प्रान्तीय र राष्ट्रिय निर्वाचन गराउनका लागि कानुन निर्माण गर्नुपर्ने औँल्याए । उनले संविधान सहमतिका आधारमा आएको भन्दै सहमतिकै आधारमा कार्यान्वयनमा लाग्नुपर्ने बताए । उनले समृद्ध नेपालको नेतृत्वपनि कांग्रेस बाहेक अरु पार्टीले गर्न नसक्ने स्पष्ट पारे ।
उनले वजेटमा ओली सरकारले केही नयाँ कुरा नल्याएको भन्दै सबै कांग्रेस सरकारको वजेटलाई पच्छाएको बताए । नेपाली कांग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता र मिश्रित निर्वाचन प्रणाली नेपाली कांग्रेसको सिद्धान्त भएको बताउँदै सबै कुरालाई संविधानले समेटेको बताए। उनले संविधानलाई कार्यान्वयन गर्नका लागि संविधानमा समेटिएकामध्ये सहमतिका बुँदा अलग र असहमतिका कुरालाई अलग छुट्टयाएर वार्ता र सम्बाद गर्नु जरुरी रहेको उल्लेख गरे । नेता निधीले नेकपा (एमाले)ले मधेस बाहेकलाई राष्ट्रियता ठानेर प्रचारप्रसार गरेको भन्दै नेपाली कांग्रेसले आम जनतालाई राष्ट्रियताको परिभाषा बुझाउनु जरुरी रहेको बताएका छन्।








