अष्ट्रेलियाका १०० धनीको सूचीबाट हटे शेष घले दम्पत्ती

sheshअस्ट्रेलिया । नेपाली दम्पती शेष घले र जमुना गुरुङ अष्ट्रेलियाली धनीहरुको सूचीमा सबै भन्दा धनी एक सयको सूचीबाट बाहिरिएका छन् । गतवर्ष अष्ट्रेलियाली धनीहरुको सूचीमा सबै भन्दा धनी एक सयको सूचीमा पर्न सफल घले दम्पती यस वर्ष भने उक्त सूचीबाट बाहिरिएको हो ।
गत वर्ष सूचीको ९९ औं स्थानमा रहेको घले दम्पती यसपटक उक्त सूचीको एकसय पाँचौ स्थानमा पुगेको छ । गत वर्ष ५ सय २८ मिलियन अष्ट्रेलियन डलर सम्पति रहेको घले दम्पत्तीको सम्पत्तीमा भने कमी आएको छैन ।
सन् २०१५ को धनीहरुको सूचीबाट ६ स्थान तल झर्दा पनि घले दम्पतीको सम्पति यो वर्ष करिब ५८ मिलियन अष्ट्रेलियन डलरले बढेको छ । यो वृद्घिसँगै जमुना गुरुङ घले र शेष घलेको कुल सम्पति ५ सय ८६ मिलियन पुगेको द अष्ट्रेलियन फाइनान्सियल रिभ्यू (एएफआर) ले प्रकाशित गरेको छ ।
बीआरडब्लू रिच २०० को सूची फेयरफ्याक्स मिडियाले प्रकाशित गर्ने ‘बिजनेस रिभ्यू विक्ली’ मा प्रत्येक वर्षको मे वा जुन महिनामा प्रकाशित हुने गरेकोमा बीआरडब्लूको प्रकाशन बन्द भएपछि फेयरफ्याक्सले नै प्रकाशित गर्ने अष्ट्रेलियाको लोकप्रिय आर्थिक दैनिक एएफआरले प्रकाशित गर्ने गरेको छ । फेयरफ्याक्स मिडिया अष्ट्रेलियाको सिड्नीमा प्रमूख कार्यालय रहेको अष्ट्रेलिया र न्यूजिल्याड्कै सबैभन्दा ठूलो मध्येको एक सञ्चारसँग सम्बन्धित कम्पनी हो ।
यो कम्पनीले एएफआर सहित अर्को लोकप्रिय मूलधारको राष्ट्रिय पत्रिका सिड्नी मर्निङ हेराल्ड, मेलवर्नबाट द ऐज र राजधानी क्यानबेराबाट क्यानबेरा टाइम्स प्रकाशित गरिरहेको छ । यो बाहेका फेयरफ्याक्सले रेडियो, रियलस्टेटसँग सम्बन्धित प्रकाशन र डिजिटल अनलाइन प्लेटफर्ममा सवारी साधनसम्बन्धी वेभसाइटलगायत अन्य धेरै वेवसाइट पनि सञ्चालन गरिरहेको छ ।
एफएआरले अष्ट्रेलियाका २०० धनीहरु मध्ये ५० धनीहरुको सम्पती र सूचीको स्थानमा आएको उतारचढावको बारेमा केही उल्लेख गरे पनि अन्य धनीहरुको बारेमा भने विस्तृतमा उल्लेख गरेको भने पाइएको छैन । उसले यो सूचीमा गत वर्षसम्म नामै नसुनिएका तर यो वर्ष सूचीमा पर्न सफल केही धनीहरुको बारेमा भने आश्चर्य प्रकट गर्दै समाचार प्रकाशन गरेको छ ।

तर पनि फेयरफ्याक्सले गत वर्षसम्म धनीहरुको सूचीमा नामै नसुनिएका तर यो वर्ष पर्न सफल भएकी भनेर आश्चार्य जनाउँदै सूचीमा समावेश गरिएकी अष्ट्रेलियाली नागरिक वियान्का राइनहार्टजस्तै अन्य केहीका कारण घलेले आफ्नो पहिलेको स्थान गुमाउनु परेको हुन सक्ने अष्ट्रेलियामा रहेका नेपालीहरुको आँकलन छ ।

गत वर्षमात्रै अदालती प्रक्रियाबाट हानकुक प्रोस्पेक्टिङ्को २३ प्रतिशत हिस्सा आफ्नो बनाउन सफल राइनहार्ट यो सूचीको ६० औं स्थानमा एकैपटक यो वर्ष पर्न सफल भएकी छन् । हजुरबुबा लाङ् हानकुकले आफ्ना नातीनातिनीहरुलाई दिएको फलाम उत्खनन् प्रशोधन र उत्पादन गर्ने ‘रोय हिल’ को स्वामित्व आफ्नी आमा गिना राइनहार्टले गैरकानुनी रुपमा आफ्नो नाममा सारेको भन्दै राइनहार्टले आफ्नो भाइ जोन हानकुकसँग मिलेर अदालतमा मुद्दा दायर गरेको थिए । आदलतले यो मुद्दामा वियान्का र जोनको पक्षमा फैसला गरेको थियो । वियान्का हाल हानकुक प्रोस्पेक्टिङ्को निर्देशक हुन् ।

विगत केही वर्षदेखि लगातार यो सूचीमा पर्नसफलभएका घले दम्पत्तिको बारेमा एएफआरले लेखेको छ–“सन् १९९० के दशकमा नेपालबाट अष्ट्रेलिया आएका शेष घले र उनको श्रीमती जमुना गुरुङले मेलवर्न इन्स्टिच्यूटअफ टेक्नोलोजी (एमआईटी) को स्थापनासँग अष्ट्रेलियाको नीजि शैक्षिक व्यवसायमा पाइला राखे । यो व्यवसाय तीव्र रुपमा बृद्घि भइरहदाँ यो दम्पत्तिको जग्गा र व्यवसायीक भवनहरुको स्थापना र सञ्चालन गर्ने कारोबारले समेत तीव्र बृद्घि गर्यो । उनीहरुले अर्गस विल्डिङको पुनःनिर्माण गरे जहाँ अहिले एमआईटीको मुख्यालय अवस्थित छ । दम्पत्तिले युरोप र नेपालमा होटलहरुको पनि स्वमित्व लिने र संचालन गर्ने गरेको छ । गुरुङ एमआईटीको प्रबन्ध निर्देशकको हैसियतमा यसको व्यवसाय र बजारिकरणमा लागि परेकी छन् भने प्रमुख कार्यकारी अधिकृतिको जिम्मेबारी सम्हालेका घले सम्पूर्ण वित्तिय कारोबार हेर्छन् ।”

यसबाहेक दम्पत्तीको एमआईटी समूहले गत वर्षमात्रै पनि मेलवर्नमा ४ सय ५० मिलियन अमेरिकी डलर लगनीमा निर्माण गर्ने योजना बनाएको ‘ट्वीन टावर’ अपार्टमेन्ट र होटल परियोजनाले पनि स्वीकृति प्राप्त गरेको छ । निर्माणको चरणमा प्रवेश गरे यो परियोजना एमआईटीको पहिलो यस्तो प्रकृतिको परियोजना हुने बताइको छ । यो दम्पत्तीको समूहलले नेपालमा होटल पनि निर्माण गरिरहेको छ ।

लम्जुङमा जन्मिएका शेष घले गैर आवसिय नेपालीरुको विश्व संगठन एनआरएनका अध्यक्ष हुन् । नेपालमा लगानी बाहेक यो समूहले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरुमा समेत ठूलो सहयोग गर्दै आइरहेको छ । गत वर्ष नेपालमा गएको भूकम्पबाट भएको क्षतिको पुनःनिर्माणमा समेत घले दम्पत्तीको उलेख्य सहभागिता रहदैँ आएको छ ।

सम्बन्धित शिर्षकहरु