ताराबहादुर बुढाथोकीको ‘जिन्दगीका कुइनेटा’ सार्वजनिक

साउन १ ।काठमाडौँ,स्रस्टा ताराबहादुर बुढाथोकीद्वारा लिखित ‘जिन्दगीका कुइनेटा’ संस्मरण कृतिको आज सार्वजनिक भएको छ ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घले राजाधानीमा आयोजना गरेको कार्यक्रममा उक्त्त कृतिको नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वउपकुलपति गङ्गाप्रसाद उप्रेतीले सार्वजनिक गर्नु भएको हो ।

उप्रेतीले सार्वजनिक गर्दै स्रस्टा बुढाथोकीले आफ्नो जीवनका भोगेका दुःख, सुखलाई कृतिमार्फत प्रस्तुत गर्नुभएको र आगामी दिनमा पनि नेपाली भाषा र साहित्यको क्षेत्रमा निरन्तर कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

कृतिमा बालकैमा आफू आगामा परेर जलेकाले गर्दा कान कम सुन्ने, कापी किन्ने पैसासम्म नभएर स्कुल पढ्न छाडेको, आफू पढ्न नपाए पनि दाजुभाइ र दिदीबहिनीलाई पढ्न सघाएको, आमाको असामयिक मृत्यु भएपछि बाबुले अर्की पत्नी ल्याएको, उनले पनि छाडेर गएपछि अन्तिममा बुबाले आफूलाई हुर्काएको, जागिर लगाइदिउँला भनेर पैसा मागेको, स्वयम्सेवकका रुपमा शिक्षक पेसा अँगालेकोजस्ता जिन्दगीका आरोह-अवरोहलाई लेखकले कृतिमा समेट्नुभएको छ ।

सभासद् तारामान गुरुङले बुढाथोकीले गरिबी, सङ्घर्ष, अभावजस्ता आफूले जीवनका भोगेका कुरा कृतिमार्फत बाहिर ल्याउनु भएको बताउनुभयो ।
प्रा डा जीवेन्द्रदेव गिरीको अध्यक्षतामा भएको सो कार्यक्रममा साहित्यकार हेमचन्द्र नेपाल, डम्बर पहाडी, सोमराज अभय, रामप्रसाद प्रदीप, दिनेशहरि अधिकारी, प्रा बद्रीविशाल पोखरेल, अनिल पौडेललगायतले कृति समाजलाई सचेत तथा व्यक्तिलाई पे्ररित गर्ने खालको भएको विचार राख्नुभयो ।

कृतिबारे टिप्पणी गर्दै विनोद मञ्जनले स्रस्टा बुढाथोकीले आफ्नो बाल्यकालदेखि लिएर कृति लेखनमा लेखकले साँचो इमान्दारी देखाएको बताउनुभयो । लेखक बुढाथोकीले आफूले बाल्यकालदेखि हालसम्मका घटना परिघटनालाई कृतिमार्फत बाहिर ल्याएको जानकारी दिनुभयो ।

 

सम्बन्धित शिर्षकहरु