बेलायतका राजकुमार ह्यारीको नेपाल भ्रमण तालिका सार्वजनिक

Prince-Harry-supporting-Cressida-NEW-CMS-MAINकाठमाडौं, बेलायतकी महारानीका तर्फबाट पहिलोपटक नेपालको औपचारिक भ्रमण गर्न लागेका राजकुमार ह्यारीकोे विस्तृत भ्रमण तालिका बेलायत सरकारले सार्वजनिक गरेको छ ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापनाको द्विशतवार्षिकीको अवसर पारेर राजकुमार ह्यारीको आगामी चैत ६ देखि १० गतेसम्म नेपालको औपचारिक भ्रमण हुन लागेको हो ।

राजकुमार ह्यारी उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले चैत ६ गते साँझ आयोजना गर्ने स्वागत समारोहमा सरिक हुनेछन् । उक्त समारोहमा उनले मन्त्रिपरिषद्का सदस्य तथा वरिष्ठ सरकारी अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको यहाँस्थित बेलायती राजदूतावासले आज जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनले चैत ७ गते राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेटगर्ने कार्यक्रम छ । राजकुमार ह्यारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने ।

नेपाल बसाइका क्रममा राजकुमार ह्यारीले पाटन र भक्तपुरका ऐतिहासिक दरबार क्षेत्रको अवलोकनका साथै भूकम्पबाट प्रभावित ऐतिहासिक स्मारकहरुको पुनर्निर्माणमा भएका प्रगतिबारे जानकारी लिने ।

त्यसैगरी, उनले भूकम्पपीडितको अस्थायी पुनःस्थापना केन्द्र, सानोठिमी प्राविधिक शिक्षालय, कान्ति बालअस्पतालको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

उक्त दूतावासका अनुसार राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गर्नुहुनेछ भने पोखरास्थित गोर्खा सैनिक क्याम्प पुगेर बेलायती राजमुकुटका निम्ति आफ्नो प्राण उत्सर्ग गरेका वीर गोर्खाप्रति श्रद्धाञ्जलि अर्पण गर्ने। राजकुमारबाट हिमालयको दृश्यावलोकन, जलयात्रा तथा पोखराबाट पदयात्रा, भूकम्पबाट पीडित गोर्खा सैनिकका परिवारसँग भेट गर्ने कार्यक्रम पनि रहेको छ ।

त्यसैगरी, चैत १० गते राष्ट्रपति भण्डारी र राजकुमारबाट काठमाडौँमा आयोजना हुने बालिका सम्मेलनको संयुक्तरुपमा उद्घाटन हुनेछ ।

राजकुमार आफ्नो सम्मानमा नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले आयोजना गर्ने स्वागत समारोहमा सरिक हुने र समारोहलाई सम्बोधन गर्ने पनि कार्यक्रम रहेको छ ।

 

सम्बन्धित शिर्षकहरु