विदेशीको अनुकूलमा संविधान नबन्दा नाकाबन्दीः उपप्रधानमन्त्री केसी

 

chitra-bahadur-kcफलेवास । उपप्रधानमन्त्री एवम् गरिबी निवारण तथा सहकारीमन्त्री चित्रबहादुर केसीले विदेशीको अनुकूलमा संविधान नबनाइँदा नेपालले नाकाबन्दीको मार खेप्नुपरेको बताएका छन् ।

पर्वतको सदरमुकाम कुश्माबजारमा आइतबारदेखि सुरु भएको पश्चिमाञ्चलस्तरीय बृहद् महिला महोत्सवको उद्घाटन गर्दै मन्त्री केसीले यस्तो बताएका हुन् । उनले नेपालमा जस्तोसुकै राम्रो काम गरे पनि विदेशीको इशारामा गर्नुपर्ने भएकाले पनि मुलुकको राष्ट्रियता खतरामा रहेको उल्लेख गर्नु भयो । उनले नाकाबन्दी अझै सहज भइनसकेको पनि बताए ।

अर्को प्रसङ्गमा मन्त्री केसीले मुलुकको बढ्दो पलायन रोक्नका लागि सरकारले स्वरोजगारमुखी कार्यक्रम सञ्चालन गरेको बताए ।

उनले महिला पनि अब चुलोचौकोमा मात्र सीमित नरही आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय रहनुपर्ने धारणा राखे।

महिलाको मात्र व्यवस्थापनमा सञ्चालित सामुदायिक रेडियो दिदीबहिनीले आयोजना गरेको महोत्सव २६ गतेसम्म सञ्चालन हुने भएको छ ।

महोत्सवमा लघु तथा घरेलु उद्यमीले उत्पादन गरेका सामग्री प्रदर्शनी, कृषि तथा पशु प्रदर्शनी, स्वास्थ्य शिविरलगायतका कार्यक्रम रहेका छन् ।

त्यसैगरी टपरी गाँस्ने प्रतियोगिता, रत्यौली प्रतियोगिता, झाँकी प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहेको छ । चार दिनसम्म सञ्चालन हुने महोत्सवमा एक लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको छ ।

सम्बन्धित शिर्षकहरु