काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राष्ट्रबाद खोक्रो भए भरिएको राष्ट्रबाद देखाइदिन अनुरोध गरेका छन् । सामाजिक सञ्जाल लगायत बौद्धिक तप्काबाटै प्रधानमन्त्रीको राष्ट्रबाद खोक्रो भन्दै कटाक्ष गरिएकाले भरिएको राष्ट्रबाद देखाइदिन अनुरोध गरेको उनले बताएका हुन् ।
राजधानीमा बुधबारबाट सुरू भएको अनेरास्ववियुको २२ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मेरो राष्ट्रबाद खोक्रो भए भरिएको राष्ट्रबाद कस्तो हुन्छ देखाउनुहोस्।’ उनले आफूले राम्रो गर्छु भन्दा पनि खिसीट्यूरी गरिएको भन्दै २०७४ असार मसान्त सम्ममा तुइन हटाएरै छाड्ने दाबी गरे । प्रधानमन्त्री ओलीले भने, ‘२०७४ असार मसान्त सम्ममा तुइन हटाएरै छाड्छौं, साउन एक गते तुइन फेला पारे सिंहदरबारमा फोटो देखाउन आउनुहोस्, पुरस्कार दिइन्छ ।’ उनले सरकार गठन भएको तीन महिनासम्म हनिमुन मनाउने समय भएपनि आफूले हनिमुन नमनाएको भन्दै हँस्सीमजाक समेत गरेका थिए ।
भत्केको कुलो बनाउन समय लागेको भन्दै अब कुलो ठीक भएकाले प्रवाह बढ्ने उनको भनाई थियो । तराई आन्दोलन र नाकाबन्दी समस्या समाधान भएको उनले इंगित गरेका हुन् ।
एमाले अध्यक्षसमेत रहेका ओलीले एमालेले सामन्तबाद विरूद्ध लडेर लोकतन्त्र स्थापित गरेको बताए । एमाले जनताको पार्टी भएको बताउँदै अब राष्ट्रवादी बन्न प्वाँख टास्नु नपर्ने बताए । १ सय २५ जाती र १ सय २३ भाषाभाषीको देशमा जातीय भाषिक विग्रह निम्त्याउन खोज्ने पराजित भइसकेको उनको तर्क थियो । नाकाबन्दीका कारण उत्पन्न समस्या समाधान तर्फ अघि बढेको बताउँदै उनले ग्यास पेट्रोल लिन अब लाइन लाग्नु नपर्ने बताए । त्यस्तै उनले आन्दोलनरत मधेसी पार्टीहरू एकदम स्पिडमा बढिरहेको भन्दै एक्कासी ब्रेक लगाउँद पल्टने भयले आन्दोलन मत्थर पार्दै लगेको विचार समेत व्यक्त गरेका थिए ।








