रौतहट – आफ्नो साथीलाई रौतहटको गौरमा प्रहरीले गोली हानी हत्या गरेको बिरोधमा विद्यार्थीहरु सोमबार बिहानदेखि आन्दोलित भएका छन् । आइतवार गौरमा भएको झडप प्रहरीले चलाएको गाली लागेर जुद्ध माबिमा कक्षा १० मा अध्ययनरत बिधार्थी शेख तबरेजको मृत्यु भएको बिरोध गर्दै बिहानैदेखि बिधार्थीहरु आन्दोलित भएका हुन् ।
विद्यार्थीहरुले एउटा प्रहरी कार्यालयको कम्पाउण्ड वाल भत्काइ दुइवटा प्रहरीचौकीका बोर्ड तोडफोड गरेका छन् । जनता उच्च माबि कटहरीयाबाट आज बिहानै सैयौंको संख्यामा गएका बिधार्थीहरु बर्तमान सरकारको बिरोधमा चर्का नारा लगाउँदै बजार बन्द गराएका थिए ।
आक्रोशित बिधार्थीहरुको समुह एकाएक दौड्दै बजार छेउमै रहेको इलाका प्रहरी कार्यालय माथि तीनतर्फबाट आक्रमण गरेका थिए । विद्यार्थीहरुले प्रहरी कार्यालयको मुलगेटमा टायर बालेर आफ्ना साथीलाई मारेको बिरोध गर्दै कार्यालयको बोर्ड तोडफोड गरेका छन् । साथै उनीहरुले प्रहरी कार्यालयको कम्पाउण्ड वालमा पूर्व र उतर तर्फबाट झण्डै ५० मिटर वाल भत्काएका छन् ।

आक्रमणको क्रममा कार्यालयमा रहेका प्रहरीहरुले जवाफी कारवहाी गरेनन् । बरु प्रहरीले स्थानियहरुलाई फोन गरेर बिद्यार्थीहरुलाइ समझाएर हटाउन अनुरोध गरेका थिए । पछि आएका स्थानीयहरुको अनुरोधमा बिद्यार्थीहरु हाल शान्त भई बजार क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।
त्यसैगरी सरमुजवा स्थित शंकर माबिका बिद्यार्थीहरुले प्रहरीचौकी बंकुलको गोलघरमा केहीबेर अघि आगजनी गरेका छन् । चौकी कम्पाउण्डमा राखिएको एउटा मोटरसाइकल र साइकलमा समेत आगजनी गरेका छन् । आगजनीबाट गोलघर ध्वस्त भएको छ भने त्यहाँ राखिएका फर्निचरहरु जलेर नष्ट भएको छ ।
उता गंगापिपरा स्थित बिद्यार्थीहरुले प्रहरी कार्यालयको बोर्डमा तोडफोड गरेका छन् ।
जिल्ला प्रहरी प्रवक्ता डिएस्पी राजेन्द्र पोखरेलले घटना भएको स्विकार गर्दै बिद्यार्थीहरुलाइ संयमित बनाउन सबैलाइ आग्रह गरेका छन् ।
यसैबीच, सोमबार बिएडको परिक्षालाई मध्यनजर राख्दै १० बजेसम्म खुल्ला गरिएको कफ्र्यु १० बजेबाट पुनः कायम गरिने रौतहटका प्रमुख जिल्ला अधिकार नरहरी बरालले जानकारी दिए ।
अहिले आन्दोलनरत मधेसी मोर्चाका नेताहरु पनि विद्यार्थीहरुसँग मिलेर प्रदर्शन गरिरहेका छन् भने जिल्ला विभिन्न स्थानमा टायर बालेका छन् । राजमार्गमा समेत सवारीको आवतजावतलाई ठप्प पारिएको छ ।Reference: Ratopati







