काठमाडौँ, राष्ट्रपति डा रामवरण यादवले तराई मधेसमा देखिएको असन्तुष्टिलाई तत्काल वार्ता र संवादको माध्यमबाट हल गर्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटवार्तामा राष्ट्रपति डा यादवले अध्यक्ष दाहाललाई सो आग्रह गरेको अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव चूडामणि खड्काले राससलाई जानकारी दिए।
भेटवार्तामा संविधान जारी भइसकेपछिको मुलुकको पछिल्लो राजनीतिक अवस्था र समाधानको उपायका बारेमा छलफल भएको थियो ।
सो अवसरमा अध्यक्ष दाहालले प्रमुख तीन दल वार्ता र संवादको माध्यमबाटै समस्याको समाधान गर्न प्रयत्नशील रहेको र सोही दिशामा संवादको प्रक्रिया अगाडि बढाइएको राष्ट्रपति डा यादवलाई जानकारी गराएका थिए।
अध्यक्ष ठाकुरसँग भेटवार्ता
यसैगरी राष्ट्रपति डा यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच आजै समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ ।
राष्ट्रपति डा यादवले तराई मधेसको समस्या समाधान गर्न तत्काल वार्ता र संवादको प्रक्रिया सुरु गर्न आग्रह गरेको बताइएको छ । संविधान जारी भएपछि राष्ट्रपति डा यादवले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गरिरहेका छन् ।








