काबुल, तालिवानी सशस्त्र आतङ्ककारी सङ्गठनले हक्वानी नेटवर्कका प्रमुख मारिएको भनी प्रचार गरिएको समाचारको खण्डन गरेको छ ।
तालिवानले शनिबार आफ्नो बेभसाइटमा प्रकाशन गरेको विज्ञप्तिमा उक्त हक्वानी नेटवर्कका प्रमुख जलालुद्दिन हक्वानी नमारिएको पुष्टि गरेको हो ।
सो विज्ञप्तिमा भनिएको छ– हालैका केही समाचार पत्रहरुले हक्वानीका संस्थापक मारिएको समाचार आएको छ त्यसमा कुनै पनि सत्यता छैन ।
केही पाकिस्तानी सञ्चारमाध्यमहरुले ७० वर्षीय हक्वानी मारिएको समाचार प्रकाशन गरेका थिए ।
तालिवानले शुक्रबार मात्र उक्त नेटवर्कको प्रमुखमा उनका छोरा सिराजुद्दिनलाई उक्त नेटवर्र्कको प्रमुखका रुपमा नियुक्त गरेको छ ।
त्यसको एकदिनपछि मात्र शनिबारका सञ्चारमा यसका संस्थापकको निधनको समाचार आएको हो ।
तालिवानले हिजोमात्र उक्त सङ्गठन र हक्वानी नेटवर्कमा नयाँ प्रमुखको नियुक्ति गरेको थियो । सो समाचारको एकदिनपछि यो समाचार आएको हो ।
सरकार तालिवान वार्ता अन्योलमा
यसैबीच तालिवान र अफगानिस्तान सरकारबीचको शान्ति वार्ता अन्योलमा परेको समाचार छ । वार्ताको प्रक्रिया अघि बढेको भए पनि तालिवानले भने सरकारसँग वार्तामा नबस्ने सङ्केत गरेपछि यो शान्ति वार्ता अन्योलमा परेको बताइएको हो ।
उक्त आतङ्ककारी सङ्गठनका प्रमुख रहेका मुल्लाह ओमारको निधनको समाचारपछि तालिवान वार्तामा नबस्ने सङ्केत गरेका बताइएको छ । उनीहरुले सो हत्याको आरोप सरकारलाई लगाएका त छैनन् तरपनि वार्तामा बस्ने बारेमा भने केही बताएका छैनन् ।
अफगानिस्तानमा जारी रहेको शान्ति वार्ता र आगामी केही दिनमै गर्ने भनिएको अर्को चरणको वार्ताका बारेमा तालिवानले अहिले नै केही भनेका छैनन् ।
यसअघि शान्ति वार्ताका लागि सशस्त्र तालिवान विद्रोही पनि तयार भएको जनाएका थिए । विश्लेषकहरुले त्यहाँ शान्ति स्थापनाको एक झिनो आशा पलाएको जनाएका थिए ।
ओमार तालिवानी समूहका सर्वोच्च नेता तथा धार्मिक नेता हुन् । उनले अफगानिस्तानको ११ औँ राज्य प्रमुखका रूपमा सन् १९९६ देखि सन् २००१ सम्म कार्यभार सम्हालेका थिए ।
गतवर्षको सेप्टेम्बर महिनामा सत्तामा आएपछि अफगान राष्ट्रपति असरफ घानीले यो पहिलो पटक यी दुई पक्षबीच प्रत्यक्ष रूपमा वार्ताको आयोजना गर्नुभएको हो ।
यस अघि कम्तीमा पनि दुई चरणमा वार्ता गरेका उनीहरुबीच इद उल फित्रको लगत्तै पछि शान्ति वार्ताका लागि बस्ने सहमति भएको बताइएको थियो ।
अफगानिस्तानमा सन् २००१ देखि नै अमेरिकी सहयोगको सरकार सुरु भयो र तालिवान त्यसको विद्रोहीमा उत्रिएको हो । तालिवानका नेता ओमार भने सन् २००१ देखि नै सार्वजनिक भएका छैनन् । रासस÷एएफपी








