सिड्नीको अबर्नस्थित ग्रान्डा प्यालेस फङ्सन सेन्टरमा धर्म जागरण महा–सभा भव्य रूपमा आयोजना भएको छ।
कार्यक्रमको सुरुवातमा भव्य कलश यात्रा गरिएको थियो, जसले सम्पूर्ण वातावरणलाई श्रद्धामय र उत्सवमय बनाएको थियो। त्यसपछि कीर्तन, नृत्य लगायतका भक्ति–सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिएको थियो। प्रसिद्ध भागवत वाचिका राधिका दासीद्वारा कथा–प्रवचन प्रस्तुत गरिएको यस धार्मिक तथा सांस्कृतिक कार्यक्रम योगी नरहरिनाथ र आदित्यनाथ फाउन्डेसनको आयोजनामा तीन दिनसम्म सञ्चालन गरिएको हो। कार्यक्रमको सञ्चालन बद्री तिमिल्सिनाले गर्नुभएको थियो भने सभामा सञ्चारकर्मीहरू तथा विभिन्न समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि न्यू साउथ वेल्सका महावाणिज्य दूत श्री संजीव शर्मा रहनुभएको थियो भने विशेष अतिथिका रूपमा योगी आचार्य राजन शर्माको उपस्थिति रहेको थियो। फाउन्डेसनका प्रमुख पण्डित नारायण शास्त्रीले यस कार्यक्रमले अष्ट्रेलियामा नेपालको संस्कार, संस्कृति र आध्यात्मिक मूल्य प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। संस्कृत विश्वविद्यालय स्थापना पहलको सन्दर्भमा आयोजना गरिएको उक्त कार्यक्रममा भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो।यस अवसरमा ग्रान्ड प्यालेस फङ्सन सेन्टरले धार्मिक कार्यका लागि निःशुल्क हल उपलब्ध गराएकोमा आयोजक पक्षले हार्दिक आभार व्यक्त गरेको छ। 









