नेपाली समुदायका लागि खुशीको खबर — एडिएचडी अभिभावक कार्यशाला अस्ट्रेलियामा हुँदै

 खुशीको खबर — एडिएचडी अभिभावक कार्यशाला 

अस्ट्रेलिया, अक्टोबर २०२५ — अस्ट्रेलियामा बसोबास गर्ने नेपाली अभिभावकहरूका लागि एउटा महत्वपूर्ण र खुशीको खबर आएको छ। Metro Assist, Inner West Council, र Transcultural Mental Health Centre (TMHC) को सहकार्यमा आउँदो बुधबार, २९ अक्टोबर २०२५, Ashfield Civic Centre (260 Liverpool Road, Ashfield NSW 2131) मा “एडिएचडी अभिभावक कार्यशाला” आयोजना। मानसिक स्वास्थ्य महिनाको अवसरमा आयोजना गरिएको यो कार्यशाला नेपाली समुदायका ती अभिभावकहरूका लागि विशेष रूपमा तयार गरिएको हो, जसका सन्तानहरूमा ध्यान अभाव (ADHD), आवेग नियन्त्रण समस्या, वा अत्यधिक सक्रियता जस्ता व्यवहारिक चुनौतीहरू देखिन्छन्।

कार्यक्रमको उद्देश्य अभिभावकहरूलाई आफ्ना बच्चाहरूको व्यवहार बुझ्न, तिनप्रति प्रेम, धैर्यता र समझदारीपूर्ण दृष्टिकोण अपनाउन सशक्त बनाउनु हो। यस कार्यशालाबाट सहभागीहरूले ADHD सम्बन्धी व्यवहार र कारणबारे प्रष्ट ज्ञान, सन्तुलित र सहयोगमुखी पारिवारिक वातावरण निर्माणका उपाय, तनाव नियन्त्रण र आत्मबल विकासका सीप, साथै समान अनुभव भएका अन्य अभिभावकहरूसँग भावनात्मक सहकार्य र अनुभव बाँड्ने अवसर पाउनेछन्।

सम्पर्क व्यक्तिका रूपमा सबिता (मोबाइल: 0466 295 199, इमेल: Sabita.Pudasaini@metroassist.org.au) ले जानकारी दिएकी छिन् कि यो कार्यक्रम केवल जानकारीमूलक मात्र नभई व्यावहारिक र भावनात्मक साथसम्बन्ध निर्माण गर्ने अवसर पनि हो। उनी भन्छिन् — “यो कार्यशाला अभिभावकहरूका लागि एउटा आत्मिक राहत र आत्मबल दिने अवसर हुनेछ, जहाँ ‘मलाई बुझ्ने कोही छ’ भन्ने अनुभूति अभिभावकहरूले साझा गर्न सक्नेछन्।”

यसैबीच, एनआरएन अस्ट्रेलियाका प्रतिनिधि सोम सुवेदीले पनि यस कार्यक्रमलाई उच्च सराहना गर्दै असनेपालन्युजलाई भने, “अस्ट्रेलियामा यस्ता कार्यक्रम हुनु निकै सकारात्मक कुरा हो। मैले पनि यसमा सहभागी हुने निर्णय गरेको छु र सबैलाई पनि सहभागी हुन प्रेरित गर्न चाहन्छु।” सुवेदीका अनुसार यस्ता प्रयासहरूले नेपाली समुदायमा मानसिक स्वास्थ्यप्रतिको बुझाइ र समर्थन प्रणालीलाई अझ बलियो बनाउन सहयोग पुग्नेछ।

नेपाली समुदायमा मानसिक स्वास्थ्य सचेतना, पारिवारिक सन्तुलन र सहयोगी वातावरण निर्माणतर्फ Metro Assist र Inner West Council को यो अभियान एउटा सकारात्मक, प्रेरणादायी र सामुदायिक एकतामा आधारित पहलका रूपमा स्थापित हुँदैछ।

सम्बन्धित शिर्षकहरु