बाथर्स्टमा सम्पन्न भयो दिव्य जीवनरूपान्तरण योग शिविर

बाथर्स्टमा सम्पन्न भयो दिव्य जीवनरूपान्तरण योग शिविर
— विशेष संवाददाता, Asanepal News Online —

अष्ट्रेलियाको सुरम्य नगरी बाथर्स्ट, न्यू साउथ वेल्समा हालै एक आध्यात्मिक एवं वैज्ञानिक दृष्टिले अभूतपूर्व शिविर सम्पन्न भयो, जसले स्वास्थ्य, शान्ति र स्वस्फूर्त जीवनका नयाँ द्वारहरू उघारेको छ। नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको यस दिव्य अवसरमा योग, ध्यान, भजन र आयुर्वेदको संगम भएको थियो।

शिविर पशुपतिन बौद्ध तपोधामविश्व शान्ति आश्रमका संस्थापक, सुप्रसिद्ध योगाचार्य तथा आध्यात्मिक जीवनदर्शी योगी आचार्य राजन शर्माको सशक्त मार्गदर्शनमा सम्पन्न भयो। उहाँको अमृतवाणीले उपस्थित सबैलाई हृदयदेखि स्पर्श गर्‍यो। प्रवचनको क्रममा उहाँले भन्नुभयो:

“स्वस्थ जीवनको सुरुवात त्यहीँबाट हुन्छ, जहाँ आत्मा रोग, राग र अहंकारबाट मुक्त भई शुद्ध श्वाससँग साक्षात्कार गर्छ। योग आत्माको जडतामा प्रकाश फुक्ने शास्त्र हो, जीवन परिवर्तनको मूल मन्त्र हो।”

उहाँले शिविरमा त्रिदोष सिद्धान्त (वात, पित्त, कफ) को गहिरो विश्लेषण गर्दै हरेक प्राणीको शारीरिक प्रकृति अनुसार आयुर्वेदिक सन्तुलन, शुद्ध आहार, निद्रा र व्यायामका शास्त्रीय सूत्रहरू प्रस्तुत गर्नुभयो। रोगअनुसार योगाभ्यास, मुद्राविज्ञान, नाडी परीक्षण, र मानसिक शुद्धिकरणका उपायहरू पनि व्यावहारिक रूपमा गराइयो।

कार्यक्रममा आयोजित सामूहिक ध्यान, विशुद्ध प्राणायाम, उर्जा सञ्चार गर्ने आसनहरू, र भक्तिभावले ओतप्रोत भजनहरूले वातावरणलाई ध्यानमय बनायो। सहभागीहरू आ-आफ्नो जीवनशैलीमा आमूल परिवर्तन ल्याउने अठोटका साथ बिदा भए।

शिविर नविन प्रसाईको सुव्यवस्थापनमा र राजेश्वर घिमिरेको समन्वयमा, GSPS Australia (Global Society for Peace and Spiritual Science) को आयोजनामा सम्पन्न भयो। कार्यक्रममा वैयक्तिक परामर्श, आयुर्वेदिक परीक्षण तथा “जीवनमा रूपान्तरण किन र कसरी?” भन्ने विषयमा सशक्त संवाद सत्र पनि गरिएको थियो।


📷 तस्बिर कैद: योगी आचार्य राजन शर्मा साधकहरूलाई ध्यानमा अभिसिक्त गराउँदै — बाथर्स्ट, अष्ट्रेलिया।

सम्बन्धित शिर्षकहरु