‘नेपालको धर्म, संस्कृति र सभ्यतामाथि घातक प्रहार भयाे,पुर्खाले आर्जेको स्वाधीन राष्ट्रलाई असफलतातिर धकेल्नु हुँदैन’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र र राष्ट्रियता सर्वाधिक संकटापन्न स्थितिमा रहेको बताएका छन् । दशैंको अवसरमा भिडियो सन्देश मार्फत शाहले यस्तो बताएका हुन् ।

साथै उनले एकातिर युवाहरु विदेश पलायन हुने र अर्कोतिर बाहिरियाहरुलाई भित्र्याउने प्रपञ्च रचिएको भन्दै उनले नेपालको धर्म, संस्कृति र सभ्यतामाथि घातक प्रहार भएको बताएका छन् ।

‘अर्कातिर बाहिरियाहरुलाई भित्र्याउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको छ’ उनले भनेका छन्, ‘विश्वका दुई ठूला मुलुकका बीचमा अवस्थित हाम्रो देशको धर्म, संस्कृति, सभ्यतामाथि घातक प्रहार हुँदै आएको छ ।’ अहिले देशलाई दाउमा लग्ने अवस्था बनेको भन्दै उनले देशले कहिल्यै पनि हार्न नहुने बताएका छन् ।

ज्ञाने‍न्द्रले भनेका छन्, ‘पूर्खाहरूले आर्जेको यो स्वाधीन राज्यलाई असफलतातिर धकेल्नुहुन्न भन्ने आम भावना रहेको छ। आफ्ना सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर सुन्दर नौलो नेपाल बन्दो रहेनछ। त्यसैले बलियो मियोमा आबद्धभएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउनु आवश्यक छ।’

उनले नेपाल देशी विदेशीहरूको क्रीडाभूमि भएको जनगुनासो रहेको बताए। ‘नेपाल निरन्तर देशी विदेशीहरूको क्रीडाभूमि पनि भयो भन्ने जनगुनासो छ। त्यसैले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत सक्षम र समृद्धिको पुनस्निर्माणमा ध्यान दिनु देखिन्छ। नेपाललाई फेरि महान बनाउनु परेको छ’, पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्।

सम्बन्धित शिर्षकहरु