अस्ट्रेलिया । अस्ट्रेलियाले महारानी एलिजाबेथ द्वितीयाको निधनको सम्झनामा राष्ट्रिय स्मृति र राष्ट्रिय शोक दिवस मनाउने भएको छ ।
बेलायतको राजसंस्थालाई राष्ट्र प्रमुख मान्ने १४ वटा राष्ट्रहरूमध्ये अस्ट्रेलिया पनि एक हो । अस्ट्रेलियाको संघीय संसद् १५ दिनका लागि स्थगित र देशभर बन्दुकको सलामीको व्यवस्था गरिने भएको छ ।
महारानीको निधनसँगै, पूर्व–व्यवस्थित औपचारिकता र प्रोटोकलको जटिल प्रक्रिया सुरु भएको द गार्जियनले जनाएको छ ।
“अस्ट्रेलियाले एक बुद्धिमान र प्रोत्साहनजनक मार्गनिर्देशक गुमाएको छ,” प्रधानमन्त्री एन्थोनी अल्बानीजले रानीलाई श्रद्धाञ्जली दिँदै भने ।
अस्ट्रेलियामा महारानीका प्रतिनिधि गभर्नर जनरल डेभिड हर्लेलाई उनको मृत्युको खबर बकिङ्घम प्यालेसले दिएको थियो । पछि हर्लेले प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई जानकारी दिएका थिए ।








