अस्ट्रेलिया । अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय यात्रुलाई कोभिड–१९ विरुद्धको खोप लगाएको पुष्टि गर्नुपर्ने प्रावधान अन्त्य गरिएको घोषणा गरेको छ ।
अस्ट्रेलियाको गृह मामिला मन्त्री क्लार ओनेल र स्वास्थ्य मन्त्री मार्क बटलरले आइतवार यो जानकारी दिएका हुन् ।
आउँदो बुधवारदेखि अस्ट्रेलिया आइपुगेका यात्रुले खोप लगाएको पुष्टि गर्न अब ुडिजिटल प्यासेन्जर डिक्लरेशनु ९डीपीडी० पूरा गर्नुपर्ने छैन ।
यो निर्णयले कोभिड–१९ को प्रसार रोक्न मार्च २०२० मा पहिलो पटक पेस गरिएको सबै अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धको अन्त्यलाई सङ्केत गरेको छ ।
ओनिलद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘हामीमध्ये धेरै अन्तर्राष्ट्रियस्तरमा यात्रा गर्दैछौँ र हामी कोभिडबाट हुने हाम्रो जोखिमको प्रबन्धमा अझ विश्वस्त हुँदैछौँ । हाम्रा विमानस्थलहरू व्यस्त हुँदैछन् । यी आवश्यकताहरू हटाउँदा हाम्रो विमानस्थलको काम कारबाही छिटो हुनुका साथै अझ धेरै आगन्तुक तथा दक्ष कामदारहरूलाई गन्तव्यको रूपमा अस्ट्रेलिया छान्न प्रोत्साहन मिल्नेछ ।’
यद्यपि अस्ट्रेलिया आउने सबै व्यक्तिले उडानको अवधिमा मुखमा मास्क लगाउने नियम भने जारी रहनेछ ।
अस्ट्रेलियामा कोभिड–१९ सङ्क्रमण सङ्ख्या बढ्दै जाँदा यो घोषणा भएको हो । सोमवार बिहान अस्ट्रेलियाले २५ हजारभन्दा बढी व्यक्तिमा कोभिड–१९ को थप सङ्क्रमण भएको जनाएको थियो । विगत २४ घण्टामा अस्ट्रेलियाको बढी प्रभावित राज्य भिक्टोरियामा २४ जना र न्यु साउथ वेल्समा २५ जनाको ज्यान गएको थियो ।








