एजेन्सी- मार्कोस जुनियर फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा निर्वाचित भएका छन। फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। गत महिना भएको निर्वाचनमा बोङ बोङ उपनामले परिचित मार्कोस जुनियरले प्रतिद्वन्द्वी लेनी रोब्रेडोलाई फराकिलो मत अन्तरले विजयी भएका थिए । उनको जीतसँगै मार्कोस राजनीतिक विरासतको आश्चर्यजनक पुनरागमन भएको छ । सन् १९८६ मा भएका एतिहासिक विद्रोहपछि फर्डिनान्ड मार्कोस सत्ताच्युत भएका थिए ।
मार्कोस जुनियरले मनिलाको राष्ट्रिय सङ्ग्रहालयमा सयौं स्वदेशी तथा विदेशी प्रतिष्ठित व्यक्तिहरू पत्रकारहरुको उपस्थितिमा एक विशाल भेलामा शपथ लिएका हुन् । बोङ्बोङ भनेर चिनिने उनी पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा हुन् । मार्कोसले फिलिपिन्समा दुई दशक शासन गरेका थिए। मार्कोसले वर्तमान उपराष्ट्रपति मारिया लियोनोर रोब्रेडोलाई निर्वाचनमा पराजित गरेका थिए ।
चिनियाँ उपराष्ट्रपति वाङ किशान र संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति कमला ह्यारिसका श्रीमान् डग एमहोफ लगायतका विदेशी व्यक्तित्वहरूले शपथ ग्रहण समारोहमा उपस्थिति जनाएका थिए । परिवार र थुप्रै समर्थकहरूको समर्थनमा मार्कोस जुनियर जो एक पूर्व सिनेटर र काङ्ग्रेसका प्रतिनिधि हुन् उनले “एक साथ हामी फेरि उठ्नेछौं” भन्ने नारामा अभियान पनि चलाएका थिए ।
यसैबीच, सम्भावित विरोधका गतिविधिलाई दृष्टिगत गर्दै १५,००० भन्दा बढी प्रहरी सैनिकहरू र तटरक्षकहरू राजधानी भर सुरक्षाका लागि तैनाथ गरिएका थिए । ठुलो सुरक्षाका साथ उहाले फिलिपिन्स को १७ औं राष्ट्रपतिको रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन।








