श्रीलङ्कामा राष्ट्रव्यापी कर्फ्यू, प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा

एजेन्सी- आर्थिक संकट बढ्दै गएपछि श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिने प्रस्ताव गरेका छन् । उनले  सोमबार आफ्नो राजीनामा पत्र राष्ट्रपतिलाई पठाएका हुन् । पछिल्लो समय निकै आर्थिक संकट ब्यहोरिरहेको श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन्। श्रीलंकाको अर्थतन्त्रले संकट व्यहोरिरहँदा सरकारका विरुद्ध प्रदर्शन भइरहेको अवस्थामा राजपाक्षेले पदबाट राजीनामा दिएका हुन्।

एक श्रीलंकाली अधिकारीले रोयटर्सलाई भनेका छन्, ‘प्रधानमन्त्रीले आफ्नो राजिनामाको पत्र राष्ट्रपतिलाई पठाउनुभएको छ ।’ राष्ट्रपति गोटाबाया राजापाक्षे प्रधानमन्त्रीका भाइ हुन्। यस्तै कम्तिमा दुई क्याबिनेट मन्त्रीहरूले पनि आफ्नो राजीनामा घोषणा गरेको बताइएको छ । देशका कयौं भागमा ठुलो प्रदर्शन समेत गरिएको छ।प्रदर्शनकारीहरूले राष्ट्रपति गोटाबाय राजापाक्षेलाई पनि राजीनामाको दबाब दिइरहेका छन्। श्रीलंका सरकारले अहिले त्यहाँ संकटकाल लगाएको छ। राष्ट्रपति भवनमा गोटाबाया राजापाक्षेको नेतृत्वमा भएको बैठकमा महिन्दा राजापाक्षेलाई राजीनामा दिन अनुरोध गरिएको र उनले त्यो मानेको मिडिया रिपोर्टहरूमा उल्लेख छ। आफ्नो राजीनामाले देशको आर्थिक संकट टर्ने भए राजीनामा दिन तयार रहेको महिन्दा राजापाक्षेले बताउँदै आएका थिए। श्रीलंकमा खाद्यान्त, पेट्रोल र औषधीको कमी भइरहेको छ। स्वतन्त्रतापछि श्रीलंका अहिले सबैभन्दा ठूलो आर्थिक संकटबाट जुग्रिरहेको छ।

श्रीलङ्काका अधिकारीहरूले सोमबार राष्ट्रव्यापी कर्फ्यू लगाएका छन् । यस्तै सरकार समर्थक समूहहरूले गोटाबाया राजापाक्षको कार्यालय बाहिर प्रदर्शनकारीहरूमाथि आक्रमण गरेपछि राजधानीमा सेना परिचालन समेत गरिएको छ । यसक्रममा कम्तिमा ७८ जना घाइते भएको बताइएको छ । महिन्दा राजापाक्षेले प्रधानमन्त्रीको पदबाट राजीनामा दिनसक्छन् भन्ने कुरा आएपछि हिंसा भएको बताइएको छ । त्यसपछि अर्को सूचना  जारी नभएसम्म तत्काल प्रभावकारी हुने गरी देशव्यापी कर्फ्यू लगाइएको थियो । श्रीलंका पछिल्लो समय आर्थिक संकट भोगिरहेको छ ।

सम्बन्धित शिर्षकहरु