एजेन्सी- क्युबाको एक होटलमा शक्तिशाली विस्फोट हुँदा १८ जनाको ज्यान गएको छ । झन्डै ६० जनाभन्दा धेरै घाइते भएका छन् ।
ज्यान गुमाउनेमा गर्भवती र एक जना बच्चा समेत रहेका बीबीसीले जनाएको छ । पुरानो हवानामा रहेको साराटोगा नामक पाँचतारे होटलमा ग्यास चुहावटका कारण विस्फोट भएको अनुमान छ । विस्फोटका कारण बाहिरी पर्खालको धेरै भाग समेत भत्किएको छ ।
भग्नावशेषमा फसेकाहरुको खोजी र उद्धारको काम भइरहेको खबरमा उल्लेख छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । होटलबाट एक ब्लक टाढा बस्दै आएकी एक महिलाले विस्फाेट अति नै भयानक भएकाेले भूकम्प गएजस्तै अनुभूति भएको बताएकी छिन् ।
विस्फोटपछि आकाशमा कालो धुवाँ उडेको र केही पनि नदेखिएको प्रत्यक्षदर्शीले बताएका छन् । होटलको पछाडि विद्यालय समेत रहेकाे तर विस्फोटबाट विद्यालयमा भने कुनै क्षति नपुगेकाे बीबीसीले उल्लेख छ । बिस्फोटको कारण स्थिति निकै भयावह सिर्जना भएको छ।








