विश्वभरका राष्ट्रहरुले सेना र हतियारमा ऐतिहासिक लगानी गर्दै

एजेन्सी- विश्वभरका राष्ट्रहरुले सेना र हतियारमा ऐतिहासिक लगानी गर्ने भएका छन। सेना र हतियारमा विश्वव्यापी खर्च यतिबेला नयाँ स्तरमा पुगेको छ । विशेषगरी रुस–युक्रेन युद्ध चलिरहेका बेला हतियार र सेनाबलको महत्व सबैले आभास गरेको पाइएको छ । यसमा पनि युरोपेली क्षेत्रमा हतियार र सेनामा लगानी पनि अझै झन-झन ठूलो रुपमा बढ्दै जाने प्रक्षेपण गरिएको छ ।

कोभिड महामारीका कारण विश्व अर्थतन्त्र नराम्ररी प्रभावित भएको भएपनि विश्वले आफ्नो सैन्य खर्च घटाएको छैन उल्टै अघिल्लो वर्षको तुलनामा  हतियार र सेना खर्च वृद्धि भएको सीप्रीको नयाँ रिपोर्टमा उल्लेख छ ।

सीप्रीका वरिष्ठ खोजकर्ता डिएगो लोपेस भन्छन्, “२०२१ मा मात्र सेनामा लगानी सातौँ वर्ष लगातार बढेको छ जसमा सैन्य खर्च २.१ ट्रिलियन डलर पुगेको छ । यो इतिहासकै उच्च तथ्यांक हो । ”

यसमा रुसले २.९ प्रतिशतले आफ्नो सैन्य खर्च बढाउँदै ६५.९ अर्ब डलर पुर्याएको छ । विगत तीन वर्षदेखि रुसले सेनामा लगानी केबल बढाइरहेको मात्र पाइन्छ । यसले कूल घरेलु उत्पादनको ४.१ प्रतिशत सेनामा खर्च गरेको छ । यो भनेको विश्वव्यापी औसतलाई हेरेर एकदम धेरै हो । यसले रुसलाई विश्वकै पाचौँ सबैभन्दा धेरै सैन्य खर्च गर्ने मुलुक बनाइदिएको छ । तेल र ग्यासबाट प्राप्त ठूलो आम्दानीले नै रुसलाई यो स्तरको सैन्य खर्च धान्न मद्दत गरेको बताइएको छ ।

हाल युक्रेनमा हमला गरिररहेको रुसले विशेषगरी २०२१ को अन्त्यतिर सेना सम्बन्धी खर्च तिव्र रुपमा बढाएको थियो । युद्ध चलिरहँदा आगामी दिनहरुमा रुसले आफ्नो खर्च कत्तिको कम गर्नेछ भन्ने अनुमान लगाउन कठिन छ । पश्चिमले यसमाथि जारी गरेको विभिन्न प्रतिबन्धले आम्दानीमा उल्लेखनीय प्रभाव पार्ने आशा गरिएको छ । तर अर्कोतर्फ २०१४ मा रुसले क्रिमिया कब्जा गर्दाको समयमा पनि पश्चिमले यस्तै विभिन्न प्रतिबन्ध लगाएको थियो । यसले इन्धनको मूल्य घटाएको थियो तर अझैपनि ती प्रतिबन्धहरु वास्तवमै कत्तिको प्रभावकारी साबित भए भन्ने बताउन कठिन छ ।

यता क्रिमिया कब्जा भएदेखि युक्रेनले पनि आफ्नो सैन्य खर्च ७२ प्रतिशतले बढाउँदै आएको थियो । २०२१ मा मात्र यसले आफ्नो सेनामा लगानी ८ प्रतिशतले बढाउँदै ५.९ अर्ब डलर पुर्याएको थियो । यो भनेको युक्रेनको कूल घरेलु उत्पादनको ३.२ प्रतिशत हो ।

यता रुससँगको तनावले युरोप लगायत सबै नेटोका सदस्य राष्ट्रहरुले सेनामा धेरै भन्दा धेरै लगानी गर्न तम्सिरहेको रिपोर्टमा देखिएको छ। अन्य सबै देशलाई पछि पार्दै सेनामा ८०१ अर्ब डलर लगानी गरेको अमेरिकाले २०२१ मा चाहिँ यो विश्वव्यापी ट्रेन्डको विपरित आफ्नो सैन्य लगानी १.४ प्रतिशतले घटाएको छ । यसको सट्टा अमेरिकाले अनुसन्धान र प्राविधिक विकासमा बढी केन्द्रित रहेर खर्च गरिरहेको छ ।

विश्वमै दोस्रो ठूलो सैन्य बजेट भएको चीनले पनि यसपटक ४.७ प्रतिशतले सैन्य लगानी बढाएर २९३ अर्ब डलर पुर्याएको छ । विगत २७ वर्षदेखि चीनले हरेक साल सैन्य खर्च वृद्धि मात्र गरिरहेको छ ।

जापान र अष्ट्रेलियाले पनि सेनामा लगानी बढाइरहेका छन् । अमेरिका र चीनपछिको सबैभन्दा ठूलो सैन्य लगानीकर्ता भारतले २०२१ मा आफ्नो सैन्य खर्च बढाएर ७६.६ अर्ब डलर पुर्याएको छ ।

यसपटक साउदी अरबलाई पछि पार्दै बेलायत चौथो स्थानमा आएको छ । तीन प्रतिशतले सैन्य लगानी बढाउँदै बेलायतले ६८.४ अर्ब डलर बनाएको छ । अर्कोतर्फ साउदीले चाहिँ १७ प्रतिशतले सैन्य खर्च घटाउँदै ५५.६ अर्ब डलरमा झारेको छ ।

सम्बन्धित शिर्षकहरु