आजबाट कक्षा १०(एसइई) को परिक्षा दुई बर्षपछि भौतिक रूपमा सञ्चालन हुँदै

माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) दुई वर्षपछि आजबाट भौतिक रूपमा सञ्चालन हुँदै छ । लगातार दुई वर्ष कोभिड-१९ का कारण भौतिक रूपमा एसइई परीक्षा नहुँदा विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट जारी गरेकोमा यस वर्ष राष्ट्रियस्तरमै परीक्षा हुन लागेको हो ।

यस वर्ष मूल्यांकनको आधारसमेत परिवर्तन भएको छ । विद्यार्थीको ग्रेडिङमा मूल्यांकनका लागि न्यूनतम ३५ अंक ल्याउनुपर्नेछ । यसअघि ३० अंक ल्याउनेको ग्रेड डी प्लस हुने र माथिल्लो कक्षामा अध्ययनका लागि अधिकांश विषयमा अवसर हुन्थ्यो । तर, यो वर्षदेखि ३५ अंकभन्दा कम आउनेको ग्रेडिङ नै नहुने व्यवस्था गरिएको छ । नयाँ व्यवस्थाअनुसार ३५ अंकलाई डी ग्रेड मानिएको छ ।

विद्यालयले आन्तरिक मूल्यांकन गर्दा अधिकांशले विद्यार्थीको सही मूल्यांकन नगरी क्षमताभन्दा बढी अंक दिएकोसमेत आरोप लागेको थियो । एउटै स्तरको प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन गर्दाभन्दा आन्तरिक मूल्यांकनमा उच्च ग्रेड ल्याउनेको संख्या निकै बढेको थियो । राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले भौतिक रूपमा परीक्षा सञ्चालनको सबै तयारी भइरहेको बताए ।

यस वर्षको एसइईमा देशभरबाट पाँच लाख १४ हजार नौ सय ७७ परीक्षार्थी सहभागी हुँदै छन् । एसइईमा छात्राभन्दा छात्रको संख्या केही बढी छ । छात्र दुई लाख ५७ हजार नौ सय २७ र छात्रा दुई लाख ५७ हजार ५३ छन् । परीक्षा नियन्त्रक रायमाझीका अनुसार देशभरमा दुई हजार सात परीक्षा केन्द्र छन् । विद्यार्थी र परीक्षा केन्द्रको संख्या बागमतीमा धेरै छ । विद्यार्थी काठमाडौं जिल्लामा सबैभन्दा बढी ३६ हजार ५१ र मनाङमा सबैभन्दा कम ६१ जना छन् । साधारणतर्फ ६१ र प्राविधिकतर्फ ४२ विषयमा परीक्षा सञ्चालन हुँदै छ । एसइई २० वैशाखमा सम्पन्न हुने तालिका छ ।

ग्रेडिङका लागि यो शैक्षिक सत्रदेखि न्यूनतम ३५ अंक ल्याउनैपर्ने भएको छ। विद्यालय तहमा न्यूनतम ३५ अंक नल्याउने विद्यार्थीको ग्रेडिङ नहुने भएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहको मूल्यांकन पद्धति समान हुने गरी लेटर ग्रेडिङ निर्देशिका, २०७८ जारी गरी न्यूनतम ३५ अंकभन्दा कम ल्याउनेको ग्रेडिङ नगर्ने निर्णय लिएको हो । कक्षा १ देखि १२ सम्मको मूल्यांकन पद्धति एउटै बनाउन सो निर्णय गरिएको केन्द्रको भनाइ छ ।

सम्बन्धित शिर्षकहरु