मेलम्चीको पानी आजदेखि सुरुङमा पठाउने तयारी, काठमाडौं आइपुग्न अझै दुई साता लाग्ने

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले आजदेखि खानेपानी सुरुङमा पठाउने भएको छ । पुनर्निर्माणको काम सकिएसँगै फिलिङका लागि सुरुङमा पठाउन लागिएको समितिले जनाएको छ ।

समितिका सिनियर डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएर सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिए । ‘हाम्रोतर्फबाट काम सकाएका छौँ । आजदेखि नै फिलिङका लागि सुरुङमा पानी पठाउने तयारीमा छौँ,’ उनले भने ।

गत असारमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्याएको थियो ।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले भने आज नै खानेपानीको उद्घाटन हुनेबारे टुंगो लागिनसकेको बताए । ‘हामीलाई केही जानकारी आएको छैन,’ उनले भने ।

सरकारले चैत मसान्तभित्र पानी काठमाडौं ल्याउने घोषणा गरेको थियो । इन्जिनियर कुँवरकाअनुसार काठमाडौंमा पानी आउन अझै १० देखि १५ दिनसम्म लाग्ने छ ।

‘स्ट्यान्डर्ड अपरेटिङ प्रोटोकलअनुसार पानी काठमाडौं आइपुग्न १५ दिन लाग्छ । प्रतिसेकेन्ड ६५ लिटरका दरले पानी पठाउँछौँ । एकैपटक खोलो हाल्ने होइन । ‘

सुन्दरीजलसम्म पानी पुगेपछि पुनः मेलम्चीमै पानी फिर्ता आउँछ । सुरुङमा पानी बढी भयो भने १० देखि १२ दिनभित्रै पानी पुग्छ । तर बाटोमा केही पानी लिकेज भयो भने १५ दिनको ठाउँमा १६ दिनपनि लाग्नसक्छ,’ उनले भने ।

सम्बन्धित शिर्षकहरु