नेपालका एक चम्किला युवा ब्याटर रोहित पौडेलको नयाँ कीर्तिमान

काठमाडौं । नेपाल एक चम्किला युवा ब्याटर राेहित पाैडेलले पपुवा न्युगिनी (पीएनजी) सँगकाे खेलमा एउटा ठुलो कीर्तिमान बनाएका छन् । पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो कीर्तिमान कायम गरेका छन । राेहित पाैडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच सय रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी बनेका हुन् ।

राेहित पौडेल पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई पछि पार्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट सर्वाधिक रन बनाउने ब्याटर बनेका हुन् । आजकाे खेलमा राेहित पाैडेलले तीन वटा कीर्तिमान बनाएका छन् ।
उनले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रनको साझेदारी, एकै पारीमा सर्वाधिक रन र एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालकै लागि सर्वाधिक रनको कीर्तिमान बनाएका हुन। आजको खेलमा पाँचौँ विकेटका लागि आरिफ र रोहितले एक सय चार रनको शतकीय साझेदारी गरे।
याे एकदिवसीयमा नेपालको कुनै पनि विकेटका लागि भएको सर्वाधिक ठूलो साझेदारी हो । यस्तै आज नै राेहित पाँच सय रन पूरा गर्ने पहिलाे नेपाली ब्याटर र एकै पारीमा नेपालबाट सर्वाधिक (एक सय २६) रन बनाए । आजसम्मको एकदिवसीयमा नेपालबाट ज्ञानेन्द्रले चार सय ८० रन बनाउँदा पारस खड्काले तीन सय सय १५ रन बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएकाे दुई सय ९३ रनकाे कीर्तिमानी लक्ष्य पछ्याएकाे नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८६ रन मात्र बनाउन सक्याे । नेपालका लागि युवा ब्याटर राेहित पाैडेलले शतकीय पारी खेले । उनले एक सय सात बलमा एक सय २६ रन बनाए । यस्तै आरिफ शेखले ३४ र कुशल भुर्तेलले ३२ रन बनाए । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९२ रन बनायाे । पीएनजीका लागि चार्ल्स अमिनीले ७३, असाद भालाले ६० र नाेर्मान भानुआले ४७ रन बनाए । बलिङतर्फ कमल ऐरी, साेमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए । यस्तै सन्दीप लामिछाने र पवन सर्राफले १–१ विकेट लिए। पपुवा न्युगिनी (पीएनजी) सँगकाे पहिलाे एकदिवसीय क्रिकेटमा नेपालले आजको खेलमा सम्मानजनक हार बेहाेरेकाे छ ।

सम्बन्धित शिर्षकहरु