काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विश्वव्यापीरुपमा युद्धको विरोधमा र्याली निकाल्न अपिल गरेका छन्। भिडियो सन्देशमार्फत जेलेन्स्कीले बिहीबार विश्वभर युद्धको विरोधमा प्रदर्शनको लागि अपिल गरेका हुन्।
बिहीबार रुसले युक्रेनमा आक्रमण सुरु गरेको १ महिना पूरा भएको छ।
‘रुसको यो युद्ध युक्रेनविरुद्धको मात्र होइन। यसको निकै ठूलो अर्थ छ’, जेलेन्स्कीले भने, ‘रुसले स्वतन्त्रताविरुद्धको युद्ध सुरु गरेको थियो। यो रुसको लागि केवल सुरुवात हो। रुस समग्र युरोप तथा समग्र विश्वको स्वतन्त्रतालाई पराजित गर्ने प्रयासमा छ।’
जेलेन्स्कीले समग्र विश्व समुदायले अहिले रुसलाई रोक्नुपर्ने बताएका छन्। ‘एक महिना बितिसकेको छ। यो निकै लामो समय हो। यसले मेरो, युक्रेनका नागरिकको र विश्वका हरेक स्वतन्त्र मानिसको मुटु टुटेको छ’, उनले थपे।
जेलेन्स्कीले पहिलोपटक अंग्रेजी भाषामा बोल्दै आफ्नो भिडियो सन्देश जारी गरेका हुन्। उनले निरन्तर युक्रेनी भाषामा बोल्दै भिडियो सन्देश जारी गर्दै आएका थिए।








