आउदै गरेको वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी आवश्यक परेको भन्दै सरकारले भर्ना आवेदन खुला गरेको छ । यसका लागि देशभर विभिन्न जिल्लामा ठूलो संख्यामा युवाहरू म्यादीमा भर्ना हुन लामबद्ध भएका छन् ।आइतबार म्यादीका लागि भर्ना आवेदन खुला गरिएसँगै देशभर म्यादी बन्न चाहने युवाहरूको ठूलै भीड लागेको छ । त्यस्तै काठमाडौ महानगरीय प्रहरी परिसर टेकुमा म्यादीका लागि आवेदन दिनेको भीड थियो । म्यादीको आवेदन दिने लाइनमा कतिपय महिलाहरू भने बच्चा च्यापेरै उभिएका देखिन्थे । पछिल्ला वर्षहरूमा म्यादी प्रहरीमा महिलाहरूको पनि उत्साहजनक सहभागिता देखिन थालेको छ । आज आवेदन खुलाएको पहिलो दिन आइतबारको भीड हेर्दा तुलनात्मक रुपमा अन्य जिल्लामा भन्दा काठमाडौंमै ठूलो भीड देखिन्थ्यो । निर्वाचनको सुरक्षार्थ जम्मा ४० दिनका लागि माग गरिएको म्यादी प्रहरीको भर्ना आवेदन फारम चैत ०६ गते देखि चैत ११ गतेसम्म खुला गरिने बताइएको छ । स्थानीय तह निर्वाचनका लागि देशभरका जिल्ला प्रहरी कार्यालयहरुले म्यादी प्रहरीको आवेदन खुलाएसँगै आवदेकहरुको घुइँचो लागेको छ । २०७९ वैशाख ३० गते हुने निर्वाचनका लागि १ लाख म्यादी प्रहरी मागिएको छ । म्यादी भर्ना हुन आवेदन दिन गाउँगाउँबाट ठूलो संख्यामा युवाहरू जिल्ला प्रहरी कार्यालयहरुमा झुम्मिएका छन् । आवेदन दिनेहरुमा डिग्री होल्डरदेखि काखमा बच्चा च्यापेर आमाहरुसम्म छन् । युवा–युवती र वयष्कहरूले लाममा उभिएर फारम दर्ता गराइरहेका छन् । यसरी लाम लाग्नेहरूमा स्नातकोत्तर तह अध्ययन गरिसकेका (डिग्री होल्डरसँगै ) यसअघिका निर्वाचनमा म्यादी प्रहरीको अनुभव गरेका साक्षर नागरिकसम्म छन् । म्यादी प्रहरीमा भर्ना हुन आउनेहरूमा उल्लेख्य संख्यामा महिलाहरु पनि छन् । केही महिलाहरू त छोराछोरी काखमा च्यापेरसमेत दर्खास्त बुझाउन आएका छन। [Ausnepalnews;Kathmandu]








