काठमाडौैं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसबाट आउने तेलमा प्रतिबन्धको घोषणा गरेका छन्। रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा क्यानडाले यस्तो निर्णय गरेको हो।
पश्चिमा मुलुकले युक्रेनमाथिको आक्रमणलाई लिएर रुसको बैंकिङ तथा अन्य आर्थिक क्षेत्रमा प्रतिबन्ध लगाए पनि तेल र ग्यासमा भने अझैसम्म पनि प्रतिबन्ध लगाएका छैनन्।
क्यानडाका प्रधानमन्त्रीले तेलबाट आउने आम्दानीले पनि रुसलाई सहयोग गर्ने भन्दै तेल तथा ग्यासमा प्रतिबन्ध लगाउनुपर्ने उल्लेख गरेका छन्।
यद्यपि क्यानडा तेल आयातमा युरोपजस्तो रुसमा धेरै निर्भर छैन। ट्रूडोले क्यानडाले कम मात्रामा तेल आयात गर्दै आएको भए पनि यो प्रतिबन्ध उसको लागि निकै ठूलो सन्देश भएको उल्लेख गरेका छन्।
युरोप भने धेरै हदसम्म रुसको तेल तथा ग्यासमा निर्भर छ।
रुसमाथि तेल तथा ग्यासमा प्रतिबन्ध लगाउँदा आफ्नै मुलुकमा ऊर्जा संकट आउनसक्ने आशंकाको कारण युरोपेली मुलुकले यो कदम चाल्न सकेका छैनन्।
युक्रेन संकटको कारण अहिले ब्रेन्ट कच्चा तेलको भाउ १०२ डलर प्रतिब्यारेल पुगिसकेको छ।








