अष्ट्रेलिया । अहिले विश्वभर कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको महामारी छ । तर अष्ट्रेलियामा ओमिक्रोनको पनि नयाँ भेरियन्ट फैलिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विज्ञप्ती जारी गर्दै स्वास्थ्य मन्त्रीले ओमिक्रोनको ‘सब भेरियन्ट’ फैलिएको जनाएकी हुन् । थोरै संख्यामा यसका संक्रमित फेला परेको स्वास्थ्य अधिकारीले बताएका हुन् ।
अष्ट्रेलियाका केही राज्य र क्षेत्रमा ‘बीए.२’ नामक ओमिक्रोनको सब भेरियन्ट संक्रमित फेला परेको अधिकारीहरूले बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य विभागकी एक प्रवक्ताले थोरै व्यक्तिमा यो सब भेरियन्टको संक्रमण पुष्टि भएको बताएकी हुन् । यो सब भेरियन्टलाई नजिकबाट नियालिरहेको पनि ती प्रवक्ताको भनाइ थियो ।
विश्व स्वास्थ्य संगठनले पनि ओमिक्रोन कम घातक भएपनि लापरवाही नगर्न चेतावनी दिँदै आएको थियो । अधिकारीका अनुसार न्यू साउथ वेल्समा बीए.२ का ३ जना संक्रमित फेला परेका छन् भने क्विन्सल्याण्ड र नर्दन टेरिटरीमा १-१ जना संक्रमित भएका छन् ।
मिडियामा ‘ओमिक्रोनको छोरा’ र ‘चोर भेरियन्ट’ भन्दै उल्लेख गरिएको छ । यो भेरियन्ट ओमिक्रोन भन्दा पनि बढी संक्रामक भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । हालसम्म यो सब भेरियन्ट ४० भन्दा बढी मुलुकमा फैलिइसकेको छ । डेनमार्कमा सक्रिय रुपमा देखा पर्न थालेको यसलाई त्यहाँका अधिकारीले ओमिक्रोनभन्दा २ गुणा संक्रामक भएको अनुमान गरेका छन् ।
विश्व स्वास्थ्य संगठनले भने यसलाई चिन्ताजनक भेरियन्टमा राखेको छैन । तर, यसबारे अध्ययन गर्नुपर्ने संगठनको भनाइ छ । पछिल्लो समय अष्ट्रेलियामा कोभिड-१९ बाट ज्यान गुमाउनेको संख्या ह्वात्तै बढिरहेका बेला ओमिक्रोनको सब भेरियन्टका संक्रमित फेला परेका हुन् । त्यहाँ शुक्रबार र शनिबार कोरोना भाइरसबाट झण्डै २०० जनाको मृत्यु भएको छ ।








