काठमाडौं । सरकारले ६ प्रकारका बिरामीलाई मात्र कोभिड-१९ विरुद्धको बुस्टर डोज दिने निर्णय गरेको छ । तर, यसलाई बुस्टर डोज भन्न अस्वीकार गर्दै सरकारले ‘थप एक अतिरिक्त मात्रा’ भएको जनाएको छ ।

कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका तर सरकारको मापदण्ड अनुसार लक्षित समूहमा परेकालाई खोपको थप एउटा मात्र दिइन लागिएको हो ।
अतिरिक्त मात्रा खोप मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर पीडित, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी र उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि प्रयोग गरिरहेका बिरामीहरुले पाउने छन् ।
क-कसले पाउँछन् अतिरिक्त खोप ?
– मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति
– सक्रिय क्यान्सरका रोगी
– अंग प्रत्यारोपण गरेका बिरामी
– एचआईभी संक्रमण भएका बिरामी
यस्तै भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्षभन्दा माथि उमेरका समूहका व्यक्तिले पनि अतिरिक्त खोप लगाउन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अतिरिक्त मात्रा दिनलाई कम्तीमा खोप लगाएको तीन महिना पूरा भएको हुनुपर्ने छ। साथै अतिरिक्त मात्रा दिँदा अघिल्लोपटक लगाएकै खोप दिइने छ। खोप लगाउन खोप कार्डसहित स्वास्थ्य संस्थामा सम्पर्क राख्न भनिएको छ।








