अष्ट्रेलियाको सीमा खुला, विदेशी विद्यार्थी र पर्यटकले प्रवेश पाउने

अष्ट्रेलिया । विदेशी पर्यटक, भिजाबाहक विद्यार्थी र दक्ष कामदारको लागि बुधबारदेखि अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा पुनः खुला गर्ने भएको छ ।

प्रधानमन्त्री स्कट मरिसन र स्वास्थ्यमन्त्री गे्रग हन्टले पुनः अन्तर्राष्ट्रिय सीमा खुला गर्ने बताएका हुन् । अष्ट्रेलियाली मन्त्रिपरिषद् र प्रमुख चिकित्सा सल्लाहकारको सुझाव अनुसार तत्काललाई सीमा खुला गर्ने निर्णय भएको जनाइएको छ ।

यसअघि त्यहाँको संघीय सरकारले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण फैलन थालेसँगै डिसेम्बर १ देखि १५ सम्म लगाइएको सीमा बन्दलाई थप विस्तार गर्न सकिनेबारे बताएको थियो ।

अष्ट्रेलिया प्रवेश गर्न चाहनेले कोभिड–१९ विरुद्ध त्यहाँको सरकारले अनुमति दिएका खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने र पीसीआरको नेगेटिभ रिपोर्ट प्रस्तुत गर्नुपर्ने अनिवार्य छ । सोमबार दक्षिण कोरियाली राष्ट्रपति मुन जेए इनसँगको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मरिसनले यस्तो कुरा बताएका हुन् ।

यसैबीच, अष्ट्रेलियाको न्यू साउथ वेल्समा भोलिदेखि नै कोभिडसम्बन्धी नियम खुकुलो पारिँदै छ । उक्त राज्यमा बुधबारदेखि सबै क्रियाकलापमा मानिसहरू सहभागी हुन पाउने भएका छन् । यसअघि खोप लगाएका मानिसमात्रै निश्चित क्रियाकलापमा सहभागी हुन पाउने नियम लागू गरिएको थियो ।

न्यू साउथ वेल्समा नियम खुकुलो भएसँगै अष्ट्रेलियाका अन्य राज्यमा हुने आवतजावत खुला गरिने छ । त्यस्तै, सार्वजनिक सवारी, विमान, विमानस्थल र खोप नलगाएका होटेल/रेष्टुरेन्टका कर्मचारीको हकमा मात्रै मास्क अनिवार्य गरिएको छ ।

सम्बन्धित शिर्षकहरु