अस्ट्रेलिया । प्रधानमन्त्री स्कट मोरिसनले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनबाट अस्ट्रेलिया नडराएको बताएका छन्।
मन्त्रिपरिषद बैठकपछि बोल्दै प्रधानमन्त्री मोरिसनले फेरि लकडाउनलगायत कडा प्रतिवन्धका कार्यक्रम हुनसक्ने सर्वसाधारणको आशंका मेट्दै उनले आफूहरू सुरक्षित रहेकाले नयाँ भेरियन्टबाट नतर्सिएको बताएका हुन्।
ओमिक्रन भेरिएन्टका कारण अब फेरि लकडाउनलगायतका कडा प्रतिबन्धका अष्ट्रेलियामा नहुने स्पष्ट पार्दै प्रधानमन्त्री मोरिसनले सावधानी अपनाउन र अध्ययन गर्नका लागि दुई साता सिमा नखोल्ने निर्णय गरेको बताए।
‘हामी फेरि लकडाउनमा फर्किन पनि चाहन्नौं र कोही पनि चाहँदैनन्। यसको प्रभाव अध्ययन गर्नका लागि मात्र दुई साता प्रतिक्षा गरेका हौं’, प्रधानमन्त्री मोसिसनले भने।
मन्त्रिपरिषद् बैठकमा मोरिसनले सबै राज्य तथा प्रादेशिक सरकार प्रमुखलाई प्रतिबन्ध खुकुलो पार्ने केन्द्रिय नीतिमा कुनै फेरबदल नगर्न आग्रहसमेत गरेका छन्।
बैठकमा बोल्दै स्वास्थ प्रमुख पल केलीले नयाँ भेरिएन्टबारे प्रष्ट हुन दुई साता समय लाग्ने भन्दै त्यतिबेलासम्म धैर्य रहन आग्रह गरे।
हाल विश्व स्वास्थ्य संगठनले मान्यता प्रदान गरेका कोरोनाविरूद्धका खोपहरू ओमिक्रन भेरिएन्ट विरूद्ध कति प्रभावकारी हुन्छन् त्यो हेर्न बाँकी रहेको बताए।
यसैबीच तास्मानीया राज्यले अधिकांश विदेशी यात्रुका लागि आफ्नो सीमा बन्द गर्ने निर्णय गरेको छ।
न्युजिल्यान्डको दक्षिणी टापुबाहेक अन्य देशका यात्रुलाई राज्यमा प्रवेश नदिइने तास्मानिया सरकारले निर्णय गरेको छ।
प्रधानमन्त्री मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीलगायत अन्य भिसावाहकको हकमा डिसेम्बर १५ सम्मका लागि अस्ट्रेलियाको सिमा बन्द राख्ने निर्णय उचित भएको बताए।
अस्ट्रेलियामा पनि कोरोनाको नयाँ संक्रमण देखिइसकेकाले कम्तीमा दुई साता यसको अवस्थाबारे बुझ्न र प्रभाव हेर्न समय लाग्ने हुनाले मिति सारिएको मोरिसनको भनाइ थियो। ‘लकडाउन फेरि हुनसक्ने सम्भावनालाई न्यून गर्न यो समझदारीपूर्ण कदम चाल्नु परेको हो,’ प्रधानमन्त्रीले भने।








