साफ च्याम्पियनसीप फाइनलमा नेपाल भारतसँग पराजित

काठमाडौं । साफ च्याम्पियनसीपको उपाधि भारतले जितेको छ। माल्दिभ्समा भएको प्रतियोगिताको फाइनल खेलमा नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै भारतले उपाधि जितेको हो। यससँगै भारतले ८ पटक साफ उपाधि जितेको छ।

फाइनल खेलमा नेपालाई दबाब बनाउँदै भारतले च्याम्पियनसिपको उपाधि आफ्नो बनायो। १३ औं संस्करणको उपाधि जितसँगै भारतले दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो पावरहाउसका रुपमा आफ्नो वर्चस्व कायम राखेको छ। भारतले अहिले आठौं पटक उपाधि जितेको हो।

पहिलो हाफमा बराबरी नतिजा रहेकोमा दोस्रो हाफको सुरुमै भारतीय पक्षबाट निरन्तर दुई गोल भएको थियो।

खेलको ४९ औं मिनेटमा भारतका तर्फबाट सुनिल क्षेत्रीले गोल गरेका थिए भने ५० औं मिनेटमा सुरेश सिंह वाङजामले दोस्रो गोल गरेका थिए। यसपछि भारतका तर्फबाट सहल अब्दुल समदले इन्जुरी समयमा गोल गरेका थिए।

खेलको सुरुआतबाट बलमा पकड जमाउँदै भारतले नेपालमाथि दबाब बनाएको थियो। यता नेपालले पनि काउन्टर अट्याकको प्रयास गरे पनि गोलको अवसर सिर्जना गर्न सकेन।

२३ औं मिनेटमा भारतका अनिरुद्ध थापाको प्रहारलाई दिनेश राजवंशीले क्लियर गरिदिएका थिए। २७ औं मिनेटमा सुनिल क्षेत्रीले गरेको प्रहार भने किरण कुमार लिम्बूको हातमा पुगेर रोकिएको थियो।

३० औं मिनेटमा नेपालका तेज तामाङले गरेको प्रहार भने भारतीय गोलकिपरको हातमा पुगेर रोकिएको थियो।

३१ औं मिनेटमा अनिरुद्ध थापाले गरेको प्रहार पोस्टमाथिबाट बाहिरियो। त्यस क्रममा डिफेन्समा रहेका सुजल श्रेष्ठ, दिनेश राजवंशी र अनन्त तामाङ निकै व्यस्त भइरहे। खेलको ३० मिनेटसम्म नेपाली टिमले केही राम्रा मुभ बनाए पनि गोल गर्न भने सकेन।

भारतले पनि निकै राम्रा मौका गुमाइरह्यो। फरवार्ड क्षेत्रीले पहिलो हाफको अन्तिम समयमा गोल गर्ने अवसर पाए, तर उनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो। पहिलो हाफमा नेपालले भारतको पोस्टतर्फ तीन र भारतले नेपालका पोस्टतर्फ १० प्रहार गरेका थिए।

सम्बन्धित शिर्षकहरु