नवलपुर । विस्तारका क्रममा रहेको महेन्द्र राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल सडकखण्डमा चालक तथा यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य भएका छन् । करिब ११४ किलोमिटर लम्बाइ रहेको सो सडकको खण्ड–१ मा पर्ने नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को ६५ किलोमिटर सडकखण्डमध्ये आधाभन्दा बढी भत्किएर खाल्डाखुल्डी छन् ।
गैँडाकोटबाट सुरु हुने सडकको खाल्डाखुल्डी दाउन्नेसम्म उस्तै छ । चारवटा स्थानीय तहलाई छुने सो सडकको सबैभन्दा बढी खाल्डाखुल्डी गैँडाकोटमा रहेको छ । यो सडकको सबैभन्दा कम खाल्डाखुल्डी र केही राम्रो बाटो भने मध्यविन्दु नगरपालिकाको जङ्गल क्षेत्रमा मात्रै भेट्टाउन सकिन्छ ।
सो सडक भएर यात्रा गर्नेमध्ये सबैभन्दा बढी समस्या बिरामी र एम्बुलेन्स चालकलाई हुने गरेको छ । संयुक्त एम्बुलेन्स चालक संघ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले नारायणगढ-बुटवल सडक पहिलेको अवस्थामा भन्दा ९९ प्रतिशत बिग्रिएको बताउँछन् । ‘सामान्य नागरिकलाई त त्यो बाटोमा यात्रा गर्न गाह्रो हुन्छ,’ लामिछानेले भने, ‘झन् हामी त बिरामी लिएर हिँड्नुपर्छ, बिरामीलाई चाँडो अस्पताल पुर्याउनुपर्छ । बाटोका कारण बिरामीलाई अस्पताल पुर्याउन ढिला हुँदा उनीहरूको अवस्था जटिल भइसकेको हुन्छ ।’
नवलपुरका बिरामीलाई अस्पताल लैजाने बेलामा घरमा सामान्य बिरामी भएका मान्छेसमेत अस्पताल पुग्दा उनीहरूको अवस्था जटिल हुने गरेको लामिछानेको अनुभव छ ।
सो सडक भएर यात्रा गर्ने अन्य निजी तथा सार्वजनिक सवारी साधनका चालकसमेत बाटोका कारण समस्यामा पर्ने गरेको बताउँछन् । मध्यविन्दुबाट काठमाडौं चल्ने माइक्रोबसका चालक अजय चौधरीले बाटोमा खाल्डाखुल्डी बढी हुँदा सवारी साधन चाँडै बिग्रिने गरेको गुनासो गरे ।
घाम लाग्दा धुलो, पानी पर्दा हिलो
सडकको दुरवस्थाका कारण स्थानीयवासीसमेत मर्कामा परेका छन् । कावासोती–१६ डण्डामा मोबाइल पसल सञ्चालन गर्दै आउनुभएका सन्तोष पोखरेलले बाटोमा उड्ने धुलोका कारण आफूहरूलाई समस्या हुने गरेको बताउँछन् । ‘पानी पर्दा हिलो हुन्छ, घाम लाग्दा धुलो उडेर पसल फोहर हुने गरेको छ,’ पोखरेलले भने, ‘मोबाइलका सामान लिन दैनिकरूपमा नारायणगढ जानुपर्ने मलाई बाटोको हिलो र धुलोका कारण झनै समस्या पर्ने गरेको छ ।’
नारायणगढ–बुटवल सडकको खण्ड–१ मा पर्ने ६५ किलोमिटर सडकमध्ये करिब १५ किलोमिटर सडकमात्रै गाडी गुडाउन सकिने अवस्थाको छ । दाउन्नेको १४ किलोमिटर उकालो सडकमा पक्की सडक देख्नै मुस्किल छ । दुम्किबासबाट दाउन्नेसम्मको सडकको सबै कालोपत्र उप्किएर ग्रामीण क्षेत्रको कच्ची सडकजस्तै बनेको छ ।
दशैंमा सरर गाडी गुडाउन पाइने
नारायणगढ–बुटवल सडक आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले खण्ड–१ मा रहेका सबै खाल्डाखुल्डी दशैं अगाडि नै पुरेर सकिने दावी गरे। ‘चिनियाँ कम्पनीका प्रमुख मान्छेले दशैंसम्म सबै खाल्डाखुल्डी पुरेर सकाउने प्रतिबद्धता जनाउनुभएको छ,’ आचार्यले भने, ‘पुल निर्माणका लागि बनाइएका डाइभर्सनबाहेक सडकमा रहेका सबै खाल्डाखुल्डी पुरेर दशैंमा सरर गाडी गुडाउन पाइन्छ ।’
निर्माण कम्पनीको कन्ट्रयाक्ट म्यानेजरले आयोजनालाई नटेरेपछि पुरानोलाई हटाएर कम्पनीले नयाँ कन्ट्रयाक्ट म्यानेजर पठाएको भन्दै आचार्यले नयाँ म्यानेजरले आफूहरुले भनेअनुसार काम गरेको बताए ।
मनसुनसमेत सकिएकाले अब भत्किएका बाटो मर्मतसँगै सडक विस्तारको कामले तीव्रता पाउने सूचना अधिकारी आचार्यको भनाइ छ । नारायणगढ–बुटवल सडकको खण्ड–१ मा काम सुरु भएको साढे दुई वर्षको अवधिमा करिब आठ प्रतिशत मात्रै काम सकिएको छ ।
रासस








