संवाद समितिको म्याद आज सकिने

असोज ३० ।काठमाडौ,संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई तेस्रो पटक थपिएको म्याद आज सकिने छ ।

दुई पटक समितिको म्याद थप्दासमेत सहमति हुन नसकेपछि संविधानका विवादित विषयमा सहमति जुटाउनका लागि तेस्रो पटक म्याद थपिएको थियो ।

सहमतिका लागि आजसम्मको समय तोकिएको भएपनि भोलि ५ बजेसम्म छलफल गरेर सहमतिमा जाने वा प्रकृयामा लैजाने भन्ने विषयको टुङ्गो लाग्ने संसद सचिवालयका प्रवत्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।

कार्यतालिका अनुसार प्रकृयामा गएर सहमति जुटाउनुपर्ने पक्षमा कांग्रेस एमाले देखिएका छन् भने एकीकृत माओवादीसहित केही मधेसवादी दलहरुले भने सहमतिकै आधारमा अघि बढ्नुपर्ने अडानमा छन् ।

सिंहदरवारमा केहीबेरमा सुरु हुने बैठकमा संविधानका मुख्य विवादित विषयमा केन्द्रित भएर छलफल हुने भएको छ । दलहरुबीच राज्य पुनरसंरचना, शासकीय स्वरुप, न्यायप्रणाली, निर्वाचलन प्रणालीलगायतका विषयमा सहमति हुन बाँकी छ ।

आजसम्म पनि सहमति हुन नसके संवाद समितिले भोलि प्रश्नावली बनाएर संविधानसभामा बुझाउनुपर्ने छ ।

यसैबीच सहमतिको प्रयास स्वरुप हिजो दिनभर छलफलमा बसेका दलहरुले आज पनि छलफललाई निरन्तरता दिने भएका छन् । तर बैठकको समय र स्थान भने तया भइसकेको छैन ।

 

सम्बन्धित शिर्षकहरु