तीन सन्तान नीति चिनियाँ संसदबाट पारित, दम्पतीलाई फकाउन विभिन्न उपाय

चीन । चीनको राष्ट्रिय संसद्ले तीन सन्तान नीतिलाई शुक्रवार औपचारिक रूपमा ग्रहण गरेको छ ।

जनसंख्याको आधारमा संसारको सबभन्दा ठूलो देशमा जन्मदर स्वाट्टै घटेकाले त्यसलाई रोक्न देशले नीतिमा व्यापक परिवर्तन गरेको छ ।

संशोधन गरिएको जनसंख्या तथा परिवार नियोजन कानूनले चिनियाँ दम्पतीलाई तीन सन्तानसम्म जन्माउने अनुमति दिन्छ । त्यस नीतिलाई नेसनल पिपुल्स कंग्रेसको स्थानीय समितिले पारित गरेको हो ।

जीवनयापन खर्च बढ्दै गएकाले चिनियाँ दम्पतीहरू धेरै सन्तान जन्माउन चाहँदैनन् । त्यसैले उनीहरूको चिन्तालाई सम्बोधन गर्नका लागि संशोधित कानूनले थप सामाजिक तथा आर्थिक सहायताका उपायलाई पनि समेटेको छ ।

नयाँ कानूनअनुसार देशले वित्तीय क्षेत्र, कर, बीमा, शिक्षा, बसोबास र रोजगारीमा सहयोग गर्नेछ । यसले गर्दा परिवारलाई बच्चा हुर्काउन तथा शिक्षादीक्षा दिन हुने खर्च घटाउने चाइना डेलीले खबर दिएको छ ।

सन्तुलित दीर्घकालीन जनसंख्या वृद्धिलाई प्रवर्धन गर्न तथा सामाजिक र आर्थिक विकासका नयाँ परिस्थितिको सामना गर्न कानूनमा संशोधन गरिएको हो ।

गत मे महिनामा चिनियाँ कम्युनिस्ट पार्टीले तीन सन्तानसम्म जन्माउन दम्पतीहरूलाई छुट दिएको थियो ।

विगत तीन दशकमा एक सन्तान नीति अपनाउँदा देशमा ४० करोडभन्दा बढी बच्चा जन्मिन नपाएको चिनियाँ अधिकारीहरू दाबी गर्छन् ।

त्यसले गर्दा अहिले कमाउने मानिस थोरै अनि कमाउनेमा आश्रित मानिस धेरै भएको स्थिति छ ।

सम्बन्धित शिर्षकहरु