काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
सभाको बैठकमा आज राति भएको मतदानमा खसेको २४९ मतमध्ये देउवाको पक्षमा १६५ मत खसेको हो । विपक्षमा ८३ मत परेको थियो भने एक जना सांसद तटस्थ बसेको परिणाम सभामुख अग्निप्रसाद सापकोटाले सुनाउनुभयो । विपक्षमा नेकपा एमालेको ओली गुटका सांसदले मात्र मतदान गरेका छन् । यसअघि ओलीले पाएको मत पनि उहाँले कायम गर्न नसकेको मत परिणामले देखाएको छ । ओलीकै पक्षका केही सांसदले समेत फ्लोर क्रस गरेका छन् ।

सर्वोच्च अदालतको फैसलामा टेकेर प्रधानमन्त्री बनेको एक साता नबित्दै देउवाले संसद्बाट विश्वासको मत प्राप्त गर्नुभएको हो । असार २८ गते सर्वोच्चले संसद् पुनःस्थापना गर्दै नेपाली काँग्रेसका सभापति संसदीय दलका नेता देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । असार २९ गते उहाँ प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।








