काठमाडौँ । यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधाीनमै सकेजति असुल्न थालेका छन् ।
विभागको वेबसाइटमा असार ३१ अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीमा भाडा बढाइएको सूचना राखिएको छ । राजधानीमै व्यवसायीले मनपरी भाडा लिँदा पनि विभागले अनुगमन नगरेको यात्रुको गुनासो छ । यात्रु रामचन्द्र सिम्खडा शुक्रबार गोकर्णेश्वरबाट जोरपाटीसम्म तीन किमीभन्दा कम दूरी यात्रा गरेको भाडा रु २० असुलेको बताउनुहुन्छ । बढी भाडा लिने बा २ ख ६८०५ नं. को बसका बारेमा प्रहरीलाई जानकारी गराएपनि कारबाही भएन ।
ट्राफिक प्रहरीको नं. १०३ मा फोन गरी तोकिएको भन्दा रु ६ बढी भाडा लिएको जानकारी गराएपनि कारबाही नभएको उहाँको दुःखेसो छ । फोन उठाउनुभएका ट्राफिक प्रहरी चन्द्र केसीले कारबाही गराएर पछि जानकारी गराउँछौँ भनेको यात्रु सिम्खडाले सुनाउनुभयो । त्यो सवारीपछि पनि दादागिरी देखाउँदै सडकमा कुदेकाले कारबाही नभएको उहाँको ठम्याइ छ । साउन लागेसँगै भाडा बढेको छ भनी ठगिनेमा सिम्खडा त प्रतिनिधि पात्र मात्र हुनुहुन्छ ।
साउन १ गते शुक्रबार नै रत्नपार्कबाट गौशालासम्म सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रु रमा भट्टराईले तोकिएभन्दा रु ६ नै बढी भाडा तिर्नुप¥यो । असार ३१ गतेदेखि भाडा बढेको छ । अब चढेपछि न्यूनतम् रु २० भाडा भएको छ भन्दै बा ५ ख २७६४ नं. को बसका परिचालकले भट्टराईसँग बढी भाडा असुलेका हुन् ।
छोटो दूरीमा रु ६ र लामो दूरीमा दोब्बोरसम्म बढी भाडा असुली भइरहे पनि अनुगमन गर्नुपर्ने निकाय मौन छन् । विभागको वेबसाइटमा राखिएको ल्याण्डलाइन फोन सम्पर्क गरेर जानकारी गराउन खोज्दा फोन नउठ्ने गरेको यात्रुको गुनासो छ । वेबसाइटमा विभागका सूचना अधिकारी डा लोकनाथ भुसालको मोबाइल नं. समेत राखिएको छ । भुसालको ९८५१२५३१३५ मोबाइल नं. मा पटकपटक फोन गर्दासमेत उठ्दैन । महानिर्देशक नमराज घिमिरेको मोबाइल नं. समेत पत्ता लगाएर फोन गरे पनि नउठेको यात्रु बताउँछन् ।
पटकपटकको मोबाइल सम्पर्कपछि फोन उठाउनुभएका सूचना अधिकारी भुसाल विभागले अन्तर प्रदेशमा मात्र भाडा बढाउन पाउने व्यवस्था अनुसार एक प्रदेशबाट अर्को प्रदेशमा जाँदा बढी लिन पाइने गरी बिहीबारदेखि भाडा बढाइएको बताउनुहुन्छ । प्रदेशभित्र र स्थानीय तहको क्षेत्रमा चल्ने सवारीको भाडा बढाउने अधिकार प्रदेश र स्थानीय सरकारलाई नै दिइएको उहाँले जानकारी गराउनुभयो ।
विभागले वैशाख १७ गते भाडा बढाउने सम्बन्धमा पठाएको फाइलको निर्णय असार २७ गते गरेर भाडा बढाइएको हो । सवा दुई महिनासम्म फाइल थन्क्याएर सरकार परिवर्तन हुने बेलामा भाडा बढाइएको भन्दै पाँच विद्यार्थी सङ्गठनलगायत नागरिक स्तरबाट पनि बिरोध भइरहेको छ ।

विभागको अनुगमन सुस्त, ट्राफिक प्रहरी केही सक्रिय
विभागले यातायात अनुगमनका लागि विशेष जिम्मेवारी नै दिएको छ । नायब सुब्बा केशवराज जमरकट्टेल र चार जना ट्राफिक प्रहरी अनुगमनमा खटिने गरेको सूचना अधिकारी भुसालले जानकारी दिनुभयो । विभागले यातायात अनुगमनका लागि छुट्टै सवारीको व्यवस्था गरेपनि त्यसको सदुपयोग नभएको यात्रुको गुनासो छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता सञ्जीव शर्मादास शुक्रबार तोकिएभन्दा बढी भाडा लिने १६० सवारीलाई कारबाही गरिएको बताउनुहुन्छ । बढी भाडा लिने सवारीलाई पहिलोपटक रु ५०० देखि रु एक हजार ५०० सम्म कारबाही गरिएको महाशाखाले जनाएको छ । बढी भाडा लिने क्रम दोहो¥याउने सवारीलाई रु पाँच हजार कारबाही गरी सवारी सिज गर्नेसम्मको तयारी भएको प्रवक्ता शर्मादासले बताउनुभयो ।
“प्रत्येक दिन धूमबाराही चोकबाट रानीपोखरीसम्म म पनि सार्वजनिक यातायातमा यात्रा गर्छु, सार्वजनिक यातायातका समस्या राम्रोसँग थाहा पाएकाले समस्या समाधानमा लागिपरेको छु”–उहाँले भन्नुभयो ।
शनिबार पनि बिहानैदेखि बढी भाडा लिएको गुनासो आइरहेकाले कार्यालयबाट धेरै जनशक्ति सार्वजनिक यातायात अनुगमनमै खटाइएको महाशाखाले जनाएको छ । यात्रुलाई तोकिएभन्दा बढी भाडा नतिर्न र बढी भाडा लिनेको जानकारी महाशाखाको निःशुल्क नं. १०३ मा खबर गर्न प्रवक्ता शर्मादासले आह्वान गर्नुभएको छ ।








