सिन्धुपाल्चोक । काठमाडौँ उपत्यकामा केन्द्रित रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने वनस्पति गुर्जो रोपणलाई उपत्यका नजिकका जिल्लामा बिस्तार गर्न थालिएको छ ।
देशव्यापी गुर्जो रोपण अभियान शुरु गर्नुभएका अभियानकर्मी कमलबहादुर राजलवटले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको केन्द्र नवलपुरमा गुर्जो रोपणलाई बिस्तार गर्नुभएको हो । यसअघि उपत्यका बाहिर आक्कलझुक्कल गुर्जो रोपिएकामा अब राजधानी नजिकका जिल्लामा विशेष अभियान चलाउने तयारी गरिएको उहाँले बताउनुभयो । आइतबार इन्द्रावती गाउँपालिकामा आयोजित कार्यक्रममा १०० वटा गुर्जोका बिरुवा रोपिएको छ । बालादेवी सामुदायिक वन क्षेत्रमा गुर्जोका बिरुवा रोपिएको हो । गुर्जो रोपणमा सामुदायिव नवनका सदस्य, जनप्रतिनिधिलगायतको सहभागिता थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले यसअघिका पुस्ताले जडिबुटीकै औषधी उपयोग गरेर निरोगी बन्ने गरेकामा त्यसको उपयोगिता सिक्न नसक्दा पछुताउनुपर्ने अवस्था आएको सुनाउनुभयो ।
“मेरो बुबा जडिबुटीको औषधी प्रयोग गरेर ६८ वर्षसम्म जीवनयापन गर्नुभयो, ती जडिबुटीका बारेमा बुबासँग सिक्न नसकेकामा अहिले मलाई पछुतो भएको छ, हाम्रो वन पाखामा पाइने गुर्जोजस्ता वनस्पतिको उपयोग गरेर स्वास्थ्य लाभ गर्ने विधिको अब उपयोग गरिनुपर्छ”–उहाँले भन्नुभयो । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृतसमेत रहनुभएका गुर्जो अभियानकर्मी राजलवटले पहाडमा पाइने गुर्जो र तराइको गुर्जो फरक रहेको बताउनुभयो । तराइको गुर्जो औषधीय गुणका लागि बढी उपयोगी रहेको उहाँको भनाई थियो । यसैले लाहानको गुर्जोको बिरुवा पहाडी जिल्लामा रोप्ने अभियान लागेको राजलवटले सुनाउनुभयो ।
कार्यक्रममा गाउँपालिका वडा नं. ४ का अध्यक्ष जगतमान ताल्चाभँडेल, वडा सदस्य दयाकुमारी मिश्र, योग शिक्षक अच्युत अर्याललगायतले गुर्जोका उपयोगगिताका बारेमा स्थानीयवासीलाई जानकारी गराउनुभएको थियो । सो अवसरमा गुर्जोलगायत वनस्पतिबाट बनेको चिया र धुलो औषधी वितरण गरिएको थियो । यसैबीच ललितपुरको वटुक भैरवनाथ मन्दिर परिसरमा आयोजित कार्यक्रममा स्थानीयवासीलाई करिब १०० बोट गुर्जो वितरण गरिएको छ । मन्दिर नजिकै रहेको नेपाली सेनाको गणमा रोप्नका लागि पनि २०० बिरुवा हस्तान्तरण गरिएको अभियानकर्मी राजलवटले जानकारी दिनुभयो ।

गोदावरी नगरपालिकाका पाँच स्थानमा ५०० गुर्जो रोपण
देशव्यापी गुर्जो रोपणको अभियान चलाउनुभएका अभियानकर्मी कमलबहादुर राजलवटको नेतृत्वमा ललितपुरका पाँच स्थानमा ५०० बोट गुर्जो रोपण गरिएको छ ।
गोदावरी नगरपालिका वडा नं.–१ गोदामचौर, वडा नं.–२ को विशङ्खुनारायण, वडा नं. –४ को बडीखेल, वडा नं.–९ को छम्पी र वडा नं.–१४ को ठैब क्षेत्रमा १००÷१०० गरी ५०० बिरुवा शनिबार रोपिएको हो । गोदावरी सरोकार समाजको सक्रियतामा नगरपालिकाका पाँच स्थानमा गुर्जो रोपिएको अभियानकर्मी राजलवटले राससलाई जानकारी दिनुभयो ।
कार्यक्रममा पूर्व सहसचिव एवं योग शिक्षक किशोरकुमार जोशी, अभियानकर्मी राजलवट र समाजका अध्यक्ष बेबी राजभण्डारीले ओषधीय गुणले युक्त वनस्पति गुर्जोका बारेमा स्थानीयवासीलाई जानकारी गराउनुभएको थियो । मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने गुर्जोबाट बनेका परिकारको नियमित रुपमा मात्रा मिलाएर सेवन गरेमा कोरोनाजस्ता भाइरसले आक्रमण नगर्ने जनाइएको छ ।
कार्यक्रममा गुर्जोबाट बनेको चिया र धुलो औषधीको प्याकेट वितरण गरिनुका साथै तयारी चियासमेत सेवन गराइएको जनाइएको छ । उच्च रक्तचाप, मधुमेह, कब्जियतलगायत रोगका लागि फाइदा गर्ने गुर्जो गर्भवती महिला र पाँच वर्ष मुनिका बालबालिकाले भने खान नहुने आयुर्वेद चिकित्सकको भनाई छ । न्यून रक्तचाप भएकाले भने बिरेनुन वा नुन मिलाएर खान सकिने अभियानकर्मी राजलवट बताउनुहुन्छ ।
नयाँ भेरियन्टसहितको कोरोना महामारी फैलिएपछि आन्तरिक राजश्व कार्यालय धुलिखेलको कार्यालय प्रमुख एवं प्रमुख कर अधिकृतका रुपमा कार्यरत राजलवटले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोबाट बनेको चिया र धुलो ३६ जिल्लाका १२१ केन्द्रबाट निःशुल्क वितरणको व्यवस्था मिलाउनुभएको थियो ।
विसं २०७६ चैतमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरेदेखि नै उहाँले गुर्जोका बिरुवा र यसबाट बनेको चिया र धुलो निःशुल्क वितरण गर्दै आउनुभएको थियो । विसं २०७६ एक लाख ६० गुर्जोका बिरुवा निःशुल्क वितरण गर्नुभएका उहाँले यस वर्ष पनि करिब १५ हजार बिरुवा निःशुल्क बाँड्नुभएको छ । धेरै स्थानमा राजलवट आफैँ उपस्थित भएर गुर्जोरोपण गर्नुभएको छ ।
एक घरमा एक गुर्जोको बिरुवा हुर्काएर विभिन्न रोगबाट बच्ने शक्तिका लागि औषधी बनाउन सकिने राजलवटको विश्वास छ । सामुदायिक वन, उद्यान, धार्मिक स्थललगायत स्थानमा गुर्जोसहित अन्य जडिबुटी रोपेर औषधी बनाउन सके धेरै पैसा तिरेर ‘साइड इफेक्ट’ गर्ने औषधी विदेशबाट आयात गर्नु नपर्ने भन्दै देशव्यापी अभियान चलाइएको राजलवट बताउनुहुन्छ ।
आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छ, उसलाई औषधीको काम गर्ने वनस्पति त्यही भूमिमा हुन्छ भन्ने वाणीका आधारमा गुर्जोलगायत वनस्पतिलाई प्रवद्र्धन गर्न लागिएको हो । संस्कृत भाषामा अमृता भनिने यस वनस्पतिका बारेमा पुराण लगायत शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको प्रसङ्ग अनुसार समुन्द्र मन्थनका बेला अमृत निस्किएपछि देवता र दानवका बीचमा खोसाखोस भयो ।
खोसाखोस हुने क्रममा अमृत छचल्किएर परेको वनस्पतिलाई नै अमृता भन्न थालिएको हो । अमृत परेकाले नै यसमा औषधीय गुण प्राप्त भएको धार्मिक विश्वास छ । यसलाई हिन्दी भाषामा गिलोय, गुडुचीलगायत नामले पनि चिनिन्छ ।








