काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ११ स्थित बुद्धनगर क्षेत्रको नदी किनारमा वाग्मती सफाइ महाअभियानको ४२६ औँ हप्ताको सफाइ गरिएको छ ।
सफाइसँगै अभियानकर्मी नारायणकुमार श्रेष्ठको जन्मोत्सवका अवसरमा सोही वडाको थापाथली क्षेत्रमा वृक्षरोपण पनि गरिएको थियो । आँप, कपुर, एभोकाडो, समी र गुर्जोका करिब १५० वटा बिरुवा रोपिएको अभियानकर्मी प्रिया लामिछानेले जानकारी दिनुभयो ।
सफाइमा पूर्व मुख्यसचिव एवं मुख्य अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, सदस्य डा माला खरेल, गुर्जो अभियानकर्मी कमलबहादुर राजलवट, पूर्व सहसचिव एवं योग शिक्षक किशोरकुमार जोशी, वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार, अभियानकर्मी डा लक्ष्मी पौडेल, महानगरपालिका वडा नं. ९ का सदस्य टेकराज अधिकारीलगायत जनप्रतिनिधिको सक्रियता थियो ।

सफाइका क्रममा रोपिएका बिरुवाको संरक्षण वडा नं. ११ कार्यालयले गर्ने सहमति भएको जनाइएको छ । यसैगरी गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथको उत्तर र पश्चिमी खण्डलगायत स्थानमा पनि आज भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदी पनि सफाइ अभियान शुरु भएको हो । हाल उपत्यकाका २० स्थानमा सफाइ भइरहेको छ ।
यसैगरी उपत्यका बाहिर पनि मुख्य मुख्य शहर, नदी, सांस्कृतिक सम्पदा स्थलमा सफाइ भइरहेको छ । उपत्यका बाहिरसमेत गरी १०७ भन्दा बढी स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ । वाग्मती सफाइ महाअभियान शुरु भएपछि प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने नाराका साथ जागरणमूलक अभियान जारी छ ।
जाडो, गर्मी, वर्षा, घाम, भूकम्प, नाकाबन्दी, कोरोना भाइरसको सङ्क्रमणजस्ता समयमा पनि वाग्मती सफाइ महाअभियान रोकिएको छैन ।








